अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड नेपाल आउँदै

फाइल तस्विर
फाइल तस्विर

मध्य र दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु फेरि नेपाल आउने भएका छन्। काठमाडौँस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको सूचनाअनुसार उनी शुक्रबार काठमाडौं ओर्लिनेछन्।

नेपालका विभिन्न राजनीतिक दलका नेताहरूको भेटघाट गर्दै उनले यहाँ रहँदा विभिन्न अमेरिकी परियोजनाहरूको पनि अवलोकन र निरीक्षण गर्नेछन्।

त्यस्तै उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)को प्रगतीबारेमा पनि बुझ्नेछन्।

‘दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु यस क्षेत्रको भ्रमणका क्रममा नेपाल फेरि आउन उत्सुक हुनुहुन्छ। जुलाई १४ मा उहाँले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्नुहुनेछ र दूतावासका कर्मचारीहरूलाई पनि भेट्नुहुनेछ’, दूतावासले भनेको छ ‘यसका साथै उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नुहुनेछ।’

यसअघि उनी २०२२ को जुलाईमा पनि नेपाल आएका थिए। त्यो बेला तीव्र मतभेदका बीच नेपालको संसदले एमसिसीको प्रस्तावना पारित गरेको थियो। त्यही बेला नेपाली सेनाका लागि अमेरिकी सहकार्य प्रस्ताव नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेपछि उनी अचानक नेपाल आएका थिए।

३० वर्षअघि दार्जिलिङ हुँदै आफ्नी श्रीमतीसहित नेपाल आएका उनी एसियाली राष्ट्रहरूबारे राम्रो जानकार भएका कुटनीतिज्ञ हुन्।

प्रकाशित मिति: : 2023-07-13 17:07:00

प्रतिकृया दिनुहोस्