गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

फाइल तस्बिर
फाइल तस्बिर

डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे।

स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे। अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन्। जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई–तीनवटा मिल सञ्चालन गर्न थाले।

मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जाँतोको महत्त्व हराउँदै गयो। अहिले गाउँको कुनै पनि कुनामा ढिकी जाँतो भेट्टाउन सकिन्न। बरु घर–घरमा विद्युतीय मिल भेटिन थालेका छन्।

विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। ढिकी जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो। गाउँ–गाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुँदै गएका छन्।

कुनै बेला गाउँलेको कुटानी पिसानी गर्ने प्रमुख माध्यम मानिने ढिकी जाँतो अहिलेका पुस्ताले चिन्नसमेत छोडिसकेका छन्। खोलाको ढुङ्गालाई मिस्त्रीले कलात्मकरूपमा कुँदेर जाँतो बनाउँथे भने काठको टुप्पोमा फलामको काँज लगाई भुइँमा पक्की ढुङ्गाको ओखल बनाई ढिकी बन्थ्यो। ढिकी, जाँतोको विकासपछि पानीघट्ट प्रयोगमा आएको बूढापाकाको भनाइ छ।

पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो। खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठुलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गर्थ्याे। अहिले यो प्रचलन हराइसकेको छ।

यस्ता पानीघट्ट ठाडो खोलामा बनाइने गरेको पाइन्छ। अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन्। नयाँ प्रविधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएकोप्रति बूढापाका दुःखेसो पोख्छन्।

नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण नगर्दा आफूहरूको पालाका ढिकी, जाँतो र ओखल हराउँदै गएको निसीखोला गाउँपालिका–७ का देवबहादुर पुनमगर बताउँछन्। मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उनको भनाइ छ।

प्रकाशित मिति: : 2023-07-11 08:04:00

प्रतिकृया दिनुहोस्