भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ।
पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ।
नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेपछि निर्माणको काम भइरहेको विज्ञ केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र रहेकाले नयाँ प्राकृतिक रोग देखिएमा पत्ता लगाई निदान गर्न धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले अस्पताल निर्माण भइरहेको छ।