पहिराले मुहान बगाउँदा विद्युत् अवरुद्ध

file photo
file photo

अविरल वर्षाका कारण आएको पहिराले विद्युत् मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन्। शुक्रबार गएको पहिराले मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका–७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन्।

पहिराले मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण) ले जानकारी दिए। विद्युत् अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट वञ्चित भएका उनको भनाइ छ।

विद्युत् तत्काल सञ्चालनमा ल्याउनका लागि काम भइरहेको उपप्रमुख कायतले बताए। स्थानीयद्वारा जनश्रमदान भइरहेकाले केही समयमै विद्युत् सञ्चालन हुने उनले बताए।  

‘अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन, जनश्रमदान गरी बर्खाभरिका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,’ उपप्रमुख कायतले भने, ‘बर्खा रोकियो भने पक्की मुहान र नहर बनाएर विद्युत् सञ्चालन व्यवस्थित गर्नेछौँ।’ बर्खाको समयमा पटक–पटक बाढीपहिराले दुःख दिँदै आएको उनको भनाइ थियो।
 

प्रकाशित मिति: : 2023-07-08 13:34:00

प्रतिकृया दिनुहोस्