अनेरास्ववियुको दोहोरो चरित्र : संस्कृत विश्वविद्यालयमा ताला आफै लगाउने, नेविसंघकाे विराेध गर्ने

तालाबन्दीले सेवा आयाेगकाे परीक्षा स्थगित

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले दोहोरो चरित्र देखाएको छ। नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आफैले ताला लगाएर विश्वविद्यालयमा ताला लगाएकाे भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)काे विराेध पनि गरेको छ। 

दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोही विश्वविद्यालय अनेरास्ववियु कमिटीले असार ३ गतेदेखि ताला लगाएको छ।  शैक्षिक क्यालेण्डर बनाउनु पर्ने, प्रोजेक्टको व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई पुस्तकको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे माग राखेर अनेरास्ववियुले ताला लगाएको छ।

उक्त ताला आइतबारसम्म खुलेको छैन। तर अनेरास्ववियु केन्द्रीय कमिटीले काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संस्कृत विश्वविद्यालयको सेवा आयोगमा लगाएको तालाका विरुद्धमा आवाज उठाएको छ। अनेरास्ववियुका केन्द्रीय कमिटीका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै सेवा आयोगको परीक्षा रोक्ने गरी नेविसंघले गरेको लाताबन्दीको विरोध गरेका छन्। 

बडालले विद्यार्थी आन्दोलन नै बदनाम गराउने गरी नेविसंघले त्रिभुवन विश्वविद्यालमा १४१ दिनको लाताबन्दी, पुर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथिको दुव्र्यवहार र पुनः संस्कृत विश्वविद्यालयको तालाबन्दी गैर जिम्मेवार, अराजक गतिविधि भएको बताएका छन्। 

उनले तालाबन्दी नखोले अनेरास्ववियु प्रतिरोधमा उत्रन बाध्य हुनेसमेत चेतावनी दिएका छन्। 

तर आफ्नै संघले गरेको तालाबन्दीका विषयमा उनी जानकार छैनन्। उनले कुनै पनि विद्यार्थी संघले तालाबन्दी गर्नु गैर जिम्मेवार रहेको भन्दै आफ्नो संगठनले गरेको तालाबन्दीका बारेमा जानकार नरहेको बिएल नेपाली सेवासँग बताए।

‘हाम्रो विद्यार्थी संघको कमिटीले तालाबन्दी गरेको विषय मलाई जानकारी छैन। तर जसले गरेको भएपनि त्यो गैर जिम्मेवार हो,’ बडालले भने, ‘हाम्रो कमिटीले तालाबन्दी गरेको भए। जिल्ला अध्यक्षलाई भनेर भोलि (सोमबार) खोल्न पठाउँछु।’ 

संस्कृत विश्वविद्यालयमा नेविसंघले असार ९ गतेदेखि विभिन्न माग राखेर तालाबन्दी गरेको छ। जसका कारण आज (आइतबार)देखि हुने सेवा आयोगको परीक्षा स्थगित भएको छ।

विश्वविद्यालयले प्रध्यापकलगायत विभिन्न पदमा कर्मचारी नियुक्त गर्नका लागि लोक सेवा आयोगबाट परीक्षा हुने गरी २०७८ साल चैतमा खाेलेको विज्ञानपन दुई वर्ष पुगेपनि परीक्षा हुन सकेको छैन। 

तर बाहिर जे मुद्धा उठाएर विद्यार्थीले विश्वविद्यालयमा तालाबन्दी गरेपनि भित्रि कुरा आफ्ना मान्छे नियुक्त गर्नका लागि पार्टीहरुले नै विद्यार्थीलाई उचालेर तालाबन्दी गरिदै आएको स्रोत बताउँछ। 
 

प्रकाशित मिति: : 2023-06-25 22:40:00

प्रतिकृया दिनुहोस्