गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदै

symbolic
symbolic

गुल्मीका बाह्रैवटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ।

प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रम अन्तर्गत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो। 

अनुगमन समितिले जिल्लाको चन्द्रकोट गाउँपालिका  अन्तर्गत वडा नं २, ३ र ४, कालीगण्डकीको १ र ४, सत्यवतीको ८, छत्रकोटको १ र २, रुरुक्षेत्रको ४, गुल्मीदरबार गाउँपालिकाको वडा नं १ र रेसुङ्गा नगरपालिकाको वडा नं १४ सहित ११ वटा वडामा सुन्तला जात फलफूलका लागि क्षेत्र विस्तार गरिने भएको हो।

त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी गाउँपालिकाको वडा नं ३ र ४ र चन्द्रकोट गाउँपालिकाको वडा नं ६ गरी तीन वटा वडामा कफीको क्षेत्र विस्तार गर्न लागिएको हो। अनुगमन समितिले बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिकाको वडा नं ५ र ८, मदानेको ४ र ७, इस्माको १ र ३ तथा धुर्कोटको ४ र ५ वडामा बाख्राका लागि क्षेत्र विस्तार गर्ने जनाएको छ। त्यसैगरी, मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिकाको २, ३ र ४, चन्द्रकोटको ४, छत्रकोटको ३ र ५ एवं गुल्मीदरबारको वडा नं ३ र ४ लाई मकैको क्षेत्र विस्तारमा राखिएको छ। 

जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन एकाइ खुमलटारमा क्षेत्र विस्तारका लागि सिफारिस गरिएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गङ्गाकुमारी पोखरेलले बताए। 

समितिले गरेको क्षेत्र विस्तारका लागि छनोटका अधारहरूमा सम्बन्धित स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्तिहरूलगायतका मापदण्डहरू बनाइएकोे जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए।

परियोजनाद्वारा विगत वर्षमा जिल्लाको बाह्र स्थानीय तहमध्ये मकै जोनमा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ गरी ९४ वटा वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको थियो। क्षेत्र विस्तारका लागि सिफारिस समितिको बैठकमा जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवाला विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।  
 

प्रकाशित मिति: : 2023-06-19 19:23:00

प्रतिकृया दिनुहोस्