आइतबार, ०४ जनवरी २०२६

 कविता: 'कोरोना'

भीम पाण्डे

भीम पाण्डे

मिचीना, म्यान्मार (बर्मा)
News Image
• • •

कोरोना किन झम्टियो ल यसरी, चारै दिशा थर्थरी
आँखाबाट खुशी गयो भन कता, छायो भदौरे झरी
चाइनाबाट कसो-कसो भुवनमा, फैल्यो बडो तेजमा
पार्यो आज लपेट विश्वभरमा, लौ रोगको मेचमा  ।।१।।

जो वैज्ञानिक रोगको विषयमा, सन्धान गर्यो जति
कोरोना यस रोग भाइरसको, कस्तो छ होला मति
खोकी लाग्नु ज्वरो हुने वदनमा, यो रोगको लक्षण
आफै गर्नु शरीरको सजग भै, आफन्तको रक्षण ।।२ ।।

लाखौं दीप फटाफटी निभिसके, हावा नलागीकन
लाखौं सूर्य जताततै डुबिसके,  साँझै नआईकन 
लाखौं फूल यताउता झरिसके, बास्ना नछाडीकन
कस्तो ईश्वरको छ खेल रचना, बुझ्दैन कोही जन ।।३।।

माया, प्रीति, दया, क्षमा र करुणा, भन्दैन यो रोगले
ठूला, सानु कतै धनी गरिब कै, गन्दैन यो रोगले
लापर्वाह गर्यो भने त सहजै, छाड्दैन यो रोगले
आ-आफ्ना घरमा बसेपछि त कै, गर्दैन यो रोगले ।।४।।

कालो बादल हुस्सु यो सगरको, उघ्रन्छ कैले अब
पैसाको बलहीन भो पसलमा, सुध्रन्छ कैले अब
चारो छैन कठैबरी उदरमा, भोको छ संसार नै
आयो रीति नयाँ हरे सकलले, ढाक्ने छ चुच्चो सधैँ।।५।।

कोही मन्त्र पढे कतै हवनमा, केही गरे अर्पण
कोही दान र पुण्य रे मनुजले, देखेन कै दर्पण
ज्ञाता डाक्टर नै पुगे मरणमा, यै रोगको खातिर
टीका खोप अझै त छैन यसको, के हुन्छ खै आखिर ।।६।।

कोही छैन सुखी र शान्ति जगमा, आनन्द केही गरी
मान्छे आज यहाँ बिमार डरले, काम्दै छ लौ थर्थरी
श्री नारायणको परी शरणमा, यो एक माग्छौं वर
कोरोना विष यो हरेक जनको, हर्देन हे ईश्वर ।।७।।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!