हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम र सुदूरपश्चिमका भूभागहरूमा भने तत्काल मनसुनको प्रभाव नभएका कारण त्यस क्षेत्रका तराईका भूभागहरूमा तापक्रम यथावत् नै रहने छ।
आज राति भने कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका केही भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ।