समयानुकूल कानुन बनाउन र कार्यन्वयन गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री आचार्य

file photo
file photo

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिको हकअधिकार सुनिश्चित गर्न समयानुकूल कानुन बनाउन र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन्। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्गता कोष, नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डल, नेपालस्थित नर्वेजियन दूतावास, सेभ द चिल्ड्रेनको सहकार्यमा युनिसेफले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी राष्ट्रिय सम्वाद’मा मन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिको सम्मान, संरक्षण र प्रवर्द्धन सुनिश्चित गर्न सरकारले विभिन्न कानुनी व्यवस्था गरेको जानकारी दिए। ‘अन्तर्राष्ट्रिय महासन्धिलगायत कानुनी व्यवस्थालाई व्यवहारिक रुपान्तरण गर्नको लागि मन्त्रालय प्रतिबद्ध छ’, उनले भने।

युनिसेफलगायत गैरसरकारी सङ्घसंस्थाले सरकार पुग्न नसकेको क्षेत्रमा पुगेर गरेका योगदानप्रति अभार प्रकट गर्दै मन्त्री आचार्यले आगामी दिनमा पनि मन्त्रालयसँग सहकार्य गर्ने अपेक्षा व्यक्त गरे। अपाङ्गता भएका व्यक्तिको सम्मान, संरक्षणको लागि व्यक्तिको सोचमा परिर्वतन गर्न जरुरी रहेको उनको भनाई थियो।

अपाङ्गतासम्बन्धी नयाँ सोचको विकास, समस्या पहिचान र कार्यान्वयनको क्रममा भएका जटिलतालाई न्यूनीकरण गर्दै आगामी दिनमा दिशानिर्देश गर्न यस्ता कार्यक्रमको महत्व रहेको मन्त्री आर्चायले बताए।

अपाङ्गता भएका बालबालिकाले सामना गर्नुपर्ने चुनौतीबारे जानकारी दिनुका साथै उनीहरुको अधिकारमा समावेशीकरण गरी नवीनतम दृष्टिकोणको प्रवर्द्धन गर्ने उद्देश्यले सम्वाद कार्यक्रम आयोजना गरिएको थियो। 

कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले तीनै तहका सरकारसँग समन्वयन गरी निजी, गैरसरकारी संस्थालगायत सबै क्षेत्रसँग सामुहिक सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिका समस्या समाधान गर्नुपर्नेमा जोड दिए। व्यक्तिका आधारभूत आवश्यकता, लोककल्याण, सामाजिक न्यायलाई ध्यानमा राखी सरकारका क्रियाकलाप सञ्चालन हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा युनिसेफ प्रतिनिधि एल्के विस्चले अपाङ्गताको संरक्षण, प्रवर्द्धनमा नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताको कार्यान्वयनप्रति आभार प्रकट गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेका सामाजिक न्यायलगायतका अन्य व्यवस्था अपाङ्गता भएका व्यक्तिको हितअनुकुल रहेको बताए। परिवार, समाजमा विभिन्न चुनौती खेप्दै आएका अपाङ्गता भएका व्यक्तिले कम रोजगारीका अवसर पाएकोमा यसलाई अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए।  

युनिसेफ, सामाजिक नीतिका प्रमुख उषा मिश्रले ‘नेपालमा वर्तमान अवस्थामा अपाङ्गता भएका  बालबालिकाको अवस्था कस्तो छ?’ भन्ने विषयमा  प्रस्तुती गरेका थिए।

प्यानल छलफलमा अपाङ्गता भएका व्यक्ति, विशेष गरी बालबालिकाको समग्र अवस्थाबारे राष्ट्रिय अपाङ्ग कोषका अध्यक्ष डेकराज भट्टराई, नेपाल अपाङ्ग महिला सङ्घका अध्यक्ष टिका दाहाललगायत सहभागी थिए। 
 

प्रकाशित मिति: : 2023-06-14 16:08:00

प्रतिकृया दिनुहोस्