ज्ञानेन्द्र शाहीलाई माओवादी नेताको चेतावनी– भाटे कारबाही खोजेको हो ?

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता नारायण खनालले संसदबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीलाई भाटे कारबाही गर्ने चेतावनी दिएका छन्। नेता खनालले फेसबुकमार्फत् उक्त चेतावनी दिएका हुन्।

‘यो राजतन्त्रको राँकेभूत बोकेर जनताका अधिकार खोस्न आएको ज्ञानेन्द्र शाही उर्फ ज्ञानेले भाटे कारबाही नै खोजेको हो त ?,’ उनले लेखेका छन्।

सांसद शाहीले आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वाेच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

‘प्रतिनिधिसभा नियमावलीको २०६९ को नियम २६ अन्तर्गत प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो। तर, प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराज जस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ। सर्वोच्चले ३० गते हाजिर हुनु भनेर पत्र काटिसकेको छ। म सोध्न चाहन्छु ३० गते प्रधानमन्त्री अदालत जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल भएर जानुहुन्छ युद्ध अपराधजस्तो कुरामा अदालतमा जानेजस्तो कुरामा देशले अपराध गरेको होइन, व्यक्तिले गरेको हो। प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। नैतिकताको आधारमा पनि पदमा बस्न मिल्दैन,’ शाहीले भनेका थिए।

प्रकाशित मिति: : 2023-06-11 18:48:00

प्रतिकृया दिनुहोस्