राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राेकेकाे विवादित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन्।
संघीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक २०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो। तर विधेयकमा असहमति जनाउँदै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन्।
दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो। १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले थन्क्याइदिएकी थिइन्। त्यही विधेयक राष्ट्रपति पौडेलले ९ महिनापछि आज प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको थियाे। उनीहरूबीच भेट भएर छुट्टिएकाे केही समयमै प्रमाणीकरण भएकाे हाे।
चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री आज भारत प्रस्थान गर्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने औपचारिक भ्रमणका जानुअघि राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका हुन्।