नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिने सरकारकाे तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बन्दी जीवन बिताइरहेका नेता चौधरीलगायतलाई गणतन्त्र दिवसको अवसरमा आममाफी र कैद मिनाहा हुने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय थियाे। सरकारकाे साेही तयारीविरुद्ध टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले सर्वोच्चमा रिट दायर गरेकी हुन्।
विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए। उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका हुन्।