उपचारमा सम्पत्ति सकिँदा पनि खुलेन सुनिताकाे हाेस, काखमा च्यापेर प्रशासन गुहार्दै श्रीमान

मन्त्री ज्वालाको पहलमा आइतबार उद्धार गरिँदै

आफूलाई के भएको छ ? कसले कहाँ लगेको छ ? के गरिरहेको छ ? केही थाहा छैन, १८ वर्षीया सुनिता बोहोरालाई। धेरै गाह्रो हुने गरी असज भएमा एक स्वरमा कराउनेबाहेक उनी थप पत्तो पाउन सक्दिनन्।

अर्धचेत अवस्था छ उनको। त्यही अर्धचेत अवस्थाकी सुनिलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय सल्यानमा उनका श्रीमान २३ वर्षीय राजेश पुन मगरले आँगालोमा बोकेर ल्याए। सुनिताको अवस्था निकै नाजुक छ।

उनको पिसाब बाहिर निकाल्न प्लाष्टिकको थैली झुड्याइएको छ। सुनिताका हात–खुट्टा सुक्दै गएका छन्। उनी यस्तो अवस्थामा कसरी पुगिन् ? त्यसका लागि ८ महिना अगाडि फर्कनुपर्छ। 

गएको असोज १५ गते कुमाख गाउँपालिका– ७ डुमकोटबाट खैराबाङ मन्दिरमा जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप कुमाख– ७ जिमालीमा दुर्घटना भयो। दुर्घटनामा २ जनाको मृत्यु भयो। सुनितासहित १९ जना घाइते भए। जसमध्ये सुनिता गम्भिर घाइते भइन्।

त्यसपछि उनलाई हेलिकप्टरमा उपचारका लागि बाँकेको नेपालगञ्ज लगियो। नेपालगञ्जमा उपचार सम्भव भएन। मस्तिष्कमा गहिरो चोट लागेको सुनिलाई थप उपचारका लागि भारतको लखनउ लगियो। त्यहाँ उनको ३ महिनासम्म उपचार गर्दा २५ लाख सकियो।

तर, सुनिताको चेत खुलेन। आर्थिक अभावले लखनउमा थप उपचार गर्न नसकेपछि सुनिताका श्रीमान राजेशले फर्काएर जिल्ला अस्पताल सल्यानमा ल्याए। लखनउमा उपचार सम्भव नभएको सल्यानमा उपचार हुने कुरै भएन।

यो बिचमा राजेश थप उपचाका लागि पैसा जोह गर्न थाले। तर, पैसा कतैबाट जुटाउन नसकेपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय सल्यानको शरणमा परेका छन्। उनले उपचारका लागि सहयोग माग्न प्रशासनमा अर्धचेत श्रीमती बोकेर पुगेका हुन्।

शुक्रबार सञ्चार माध्यमा समाचार आएपछि उनको उद्धारको पहल भएको छ। सल्यान- १ बाट निर्वाचित सांसद तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उपचाकारका लागि पहल गरेका छन्।

मन्त्री ज्वालाले सुनिताको उद्धारका लागि जिल्ला प्रशासन कार्यालयलाई प्रक्रिया अगाडि बढाउन निर्देशन गरिएको बिएल नेपाली सेवासँग बताए। उनले भने, ‘सुनिताको उद्धारका लागि प्रशासनलाई प्रक्रिया अगाडि बढाउन भनिएको छ। नेपालगञ्जसम्म हेलिकोप्टर पठाएर उद्धार गरिने तयारी भइरहेको छ।’

सुनिलाई हेलिकप्टरबाट आइतबार उद्धार गरिने जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले बताए। उनले भने,‘कानुनी प्रक्रिया मिलाएर आइतबार नेपालगञ्जसँग एम्बुलेसन्मा सुनितालाई पठाइने छ। त्यसपछि हेलिकोप्टरबाट काठमाडौं पठाइने छ।’

अहिले सुनितालाई जिल्ला अस्पताल सल्यानमा राखिएको छ।

प्रकाशित मिति: : 2023-05-27 22:30:00

प्रतिकृया दिनुहोस्