टोपबहादुर र बादलका छोरालाई 'रक्सी बोकेर होटलमै पुग्थे' दलालहरू

फाेटाेसप गरिएकाे तस्बिर
फाेटाेसप गरिएकाे तस्बिर

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रमुख योजनाकार टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापालाई गिरोहका सदस्यहरूले विदेशी रक्सी उपहार दिएर काम गराउने गरेको खुलेको छ। 

नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका खेलेका सागर राई, केशव दुलाल र सानु भण्डारीले मदिराप्रेमी रायमाझी र थापालाई महँगो रक्सी दिएर खुशी बनाउने गरेको कुरा खुलेको हो। 

काठमाडौँका दुई होटललाई भेटघाट र रकम उठाउने केन्द्र बनाएका प्रतिकले त्यहीँ बसेर काम गर्ने गरेको र उनलाई भेट्न जाने बिचौलियाहरूले डबल ब्ल्याक लेबल रक्सी लैजाने गरेको जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ।

'गौशालास्थित रोजस्टार होटलमा प्रतिवादी सागर राईसमेत बस्ने गरेकोमा सोही होटलमा प्रतिवादी केशव दुलाल,सानु भण्डारीसमेत जाने गरेको, निज प्रतिवादीहरू सानु भण्डारी, सागर राई र केशव दुलाल डबल ब्ल्याक रक्सी बोकी फरार प्रतिवादी प्रतिक थापा र प्रतिवादी टोपबहादुर रायमाझीलाई पटक-पटक भेट्न जाने गरेको भनी होटल सन्चालक रोजन खत्रीले खुलाई लेखाइदिएको कागज' अभियोग पत्रमा लेखिएको छ। 

अभियोग पत्रमा तत्कालीन गृहमन्त्रीको प्रमुख स्वकीय सचिव रहेका प्रतीकले नक्सालस्थित नीलगिरी होटलमा बसी रकम उठाउने गरेको पनि जनाइएको छ। उनले एकजना पीडितबाट नीलगिरी होटलमै १ करोड बुझेको र पछि पुनस् प्रतिव्यक्ति १० लाख लाग्छ भनी होटलमै बसेर फारम भराई ३४ जनाबाट तीन करोड ४० लाख रुपैयाँ बुझेको पनि पाइएको छ। 

हाल फरार रहेका प्रतिकविरुद्ध ठगी,संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ।

 
 
 

प्रकाशित मिति: : 2023-05-25 21:50:00

प्रतिकृया दिनुहोस्