नक्कली भुटानी शरणार्थी प्रकरण: ३० जनाविरुद्ध ५ अभियोगमा मुद्दा दर्ता

File Photo
File Photo

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

बुधबार सरकारी वकिल कार्यालयले शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार रहेका १४ जनागरी ३० जना प्रतिवादीविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो।

सरकारी वकिल कार्यालयका अनुसार उनीहरुविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी कीर्ते र एकीकृत कसुरसहित ५ किसिमको अभियोग लगाइएको छ। उनीहरूविरुद्ध २७ करोड ८१ लाख विगोसहित मुद्दा दर्ता भएकाे हाे।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

त्यसैगरी पक्राउ पर्नेहरूमा पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी रहेका छन्।

सोही प्रकरणमा आरोपित पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा नीरज राईसहितका व्यक्तिहरु फरार छन्।

प्रकाशित मिति: : 2023-05-24 16:58:00

प्रतिकृया दिनुहोस्