आरजु, मञ्जु र प्रेम राईको प्रमाण मेटाउँदै प्रहरी

BreaknLinks
BreaknLinks

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहका नाइके केशव दुलाल र बिचौलिया सानु भण्डारीले ‘प्रेमकुमार राई, आरजु राणा देउवा र मञ्जु खाँण’लाई करोड–करोड बुझाएको बयान दिएका छन्। तर अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले शीर्ष राजनीतिक नेतृत्वको दबाब र प्रभावमा परेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम, सांसदद्वय आरजु र मञ्जु खाँणको प्रमाण मेटाइरहेका छन्।

प्रहरी अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरूले ‘हाई प्रोफाइल’हरू आरजु–मञ्जु र प्रेमलाई शरणार्थी प्रकरणमा मुछ्दासमेत प्रहरी मौन छ। ‘सुरुआती चरणमा प्रशंसनीय काम गरेको नेपाल प्रहरीले अनुसन्धान गर्दैजाँदा राजनीतिक दबाब थेगिरहेको बुझिएको छ।

पक्राउ परेका अभियुक्तहरूले पटकपटक नाम पोल्दासमेत प्रेम राई, आरजु राणा र मञ्जु खाँणबारे प्रहरी किन चुपचाप?,’ एक पूर्वप्रहरी अधिकारीले भने। गिरोहका नाइके दुलाल र बिचौलिया भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईलाई साढे दुई करोड रुपैयाँ बुझाएको बयान दिएका छन्।

प्रहरी हिरासतमा रहेका उनीहरूले तत्कालीन गृह सचिव राईले प्रयोग गर्दै आएको सरकारी गाडीभित्र साढे दुई करोड रुपैयाँ राखिदिएको दाबी गरेका छन्। बयानका क्रममा अभियुक्तहरूले राई, देउवा र खाँणको नाम लिँदासमेत प्रहरी आफ्नो प्रतिवेदनमा उनीहरूलाई कमजोर पार्ने काम गरेको छ।

त्यस्तै, भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा र प्रहरी हिरासतमा रहेका कांग्रेस नेता बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसमेत संलग्न रहेको अडियो क्लिप प्रहरीकहाँ पुगेको छ। अडियो मात्र होइन, पक्राउ परेका व्यक्तिहरूको बयानमा आरजु र मञ्जुलाई आठ करोड रुपैयाँ बुझाएको उल्लेख गरिएको छ।

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार उक्त अडियो गिरोहका सदस्य सन्देश शर्माले प्रहरीलाई दिएका थिए। तर प्रहरीले अडियोमाथि अनुसन्धान नै गरेन। उनै गिरोहका नाइके दुलाल र बिचौलिया भण्डारीले गृह मन्त्रालयको कार्यकक्षमा तत्कालीन सचिव प्रेमकुमार राईलाई भेट्दा ‘पार्किङको गाडीमा साढे दुई करोड रुपैयाँ राखिदिएको सूचना’ दिएको बयानमा भनेका छन्।

आफूहरूको बयानलाई प्रहरीले गम्भीर रुपमा नलिएको भन्दै गिरोहका नाइके दुलाल प्रहरी अधिकारीसँग असन्तुष्ट छन्। प्रहरी अधिकारीसामु राईको नाम बारम्बार लिँदासमेत प्रहरीले सरकारी वकीलको कार्यालयमा बुझाएको प्रतिवेदनमा राईबारे प्रकाशित कुनै तथ्य समेटिएको देखिँदैन।

त्यतिखेर गृह मन्त्रालमा तत्कालीन गृहसचिव राई र आफूहरूबीच भएको गोप्य कुराकानीको अडियो बनाएको र त्यो अडियो पनि भिडियोसँगै प्रहरीलाई दिएको दुलालको दाबी छ। तर प्रहरी शक्तिकेन्द्रको दबाब कारण राईलाई नजरअन्दाज गर्दै आएको अभियुक्तहरूको गुनासो रहेको सरकारी वकील कार्यालयका एक अधिकारीले बताएका छन्।

प्रकाशित मिति: : 2023-05-24 11:42:00

प्रतिकृया दिनुहोस्