कविता

आन्दोलनको समाप्ति

युग सर्वनाम

काठमाडौं

आउनुस्
निकालौं दु:खहरूलाई 
जीवनको वल्लोपल्लो किनारबाट

ल्याउँ सडकमा- 
भाच्दिउँ उसकाे नलीहाड छामिछामि
र, थन्काइदिउँ
संसद भवनको नयाँ सङ्ग्रालयमा

आउनुस् गिरफ्तार गरौं भोकहरूलाई
र, थुनौं चिडियाखाना/निकुञ्जतिर

बरु भरौं अब-
ढुङ्गाहरूमा दाँत र राखिदिउँ हिमालको सेतो मुस्कान
लगाइदिउँ- 
धुलोहरूलाई लिपिस्टिक र अझ नाच्न उक्साउँ उल्लासको नृत्य
भरिदिउँ- 
बतासमा मालश्री धुन, पञ्चेबाजा या कुनै प्रगतिशील गीत
र, सुनाउँदै हिँड्न आदेश दिउँ विलासीहरूको टोलटोलमा
राखिदिउँ- 
कुहिरोहरूमा ऐना भनौं ‘आकाशभन्दा माथिमाथि उड्नु’ र देखाइदिनु गरीबका ढाड्मा टेक्नेहरूलाई नाङ्गो इतिहास

यदि अझै पनि
सखाप भएन छ भने दु:खहरू
उग्लेन छ भने भोकहरू

गरौंला फेरि 
अझै अर्को आन्दोलन
सक्लाउँला जुलुस
खोकौंला नानाभातिका नाराहरू
आह्वान गरौंला अनिश्चितकालीन हड्ताल

तर त्यसबेला, त्यसको प्रभाव 
केवल भोकहरूलाई मात्र पर्ने छैन
केवल दु:खहरूलाई मात्र पर्ने छैन

आच्छु आच्छु हुनेछ साराकासारा पाखण्डीहरू
चिच्याउनेछ बंगलाहरूबाट परजीवी प्रेत्मात्मा
र छेल्लबेल्ल हुनेछ धन्धाहरूको वास्तविकता

किनभने त्यसबेला छोडिएको हुनेछ

संसद भवनको सङ्ग्रालयबाट 
दु:खहरूको भत्केको आत्मा
चिडियाखानाबाट भोकहरूको डरलाग्दो चिच्याहट।

प्रकाशित मिति: : 2023-03-11 07:49:00

प्रतिकृया दिनुहोस्

    धेरै राम्रो

    • 11 महिना अगाडि
    • Dhan bista