नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीय पक्राउ परेका छन्। झुठो विवरण पेश गरी नागरिकता लिएको आरोपमा काठमाडौंका विभिन्न ठाउँमा बस्दै आएका १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्ने सबै भारतको उत्तर प्रदेशको बलिया जिल्लाका हुन्। जसमध्ये काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता, ३९ वर्षीय गोपाल गुप्ता र ३० वर्षीय राहुल गुप्ता छन्।
यस्तै, ललितपुर बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता, ५२ वर्षीया राजेशकुमार गुप्ता र गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता छन् ।
प्रहरीले उनीहरुलाई साढे तीन महिनाको अनुसन्धानबाट पक्राउ गर्न सफल भएको हो। यो प्रारम्भीर रुपमा पक्राउ परेका मात्र हुन। यस्ता झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिने अन्य धेरै रहेको अनुमान गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले बताए।
पक्राउ परेका सबै व्यपारी हुन। विशेष गरेर काठमाडौंका विभिन्न क्षेत्रमा मिठाई पसल गरेर उनीहरु बसेको प्रमुख केसीले जानकारी दिए। अन्य पनि अनुसन्धानको घेरामा रहेकाले यो संख्या थप बढ्न सक्ने उनले बताए।
झुठा विवरण पेश गरेर उनीहरुले बारा, पर्सा, रुपन्देहीलगायत जिल्लाबाट नागरिकता लिएका छन्। प्रहरी प्रमुख केसीले घटनाको विषयमा अनुसन्धान भइरहेको भन्दै नागरिकता दिने प्रशासन प्रमुखलगायत सबैलाई अनुसन्धान गरिने बताए।