नक्कली भुटानी शरणार्थी प्रकरण: थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

अदालतबाट हरिभक्त महर्जन, केशव तुलाधर र लक्ष्मी महर्जनको नाममा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएका तीनै जना आरोपी फरार छन्। हरिभक्त महर्जन र केशव तुलाधर सहकारी सञ्चालक हुन्। उनीहरूकाे बैंक खातामा ठगीको रकम डिपोजिट भएको अनुसन्धानबाट खुलेकाे प्रहरीले बताएकाे छ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।

विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १ सय ६ जनाले २० वटा उजुरी दिएका छन्। उनीहरुले कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएका छन्।

यद्यपि योभन्दा धेरै सङ्ख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको प्रहरीले जनाएकाे छ। हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

गिरोहले विसं २०७७ देखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ। यस सम्बन्धमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो।

घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए। त्यसको केही दिनपछि सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परेका थिए।

यसैगरी प्रहरीले वैशाख १९ गते मङ्गलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार डा इन्द्रजीत राईलाई पक्राउ गरेको थियो।

प्रहरीले बुधबार तत्कालीन गृहसचिव भइ हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको थियाे। प्रहरीले अहिले पनि एमाले सचिव रायमाझी र डा राईका छोरा नीरजमाथि पक्राउ पुर्जी जारी गरी खोजी गरिरहेको छ।

प्रकाशित मिति: : 2023-05-05 11:46:00

प्रतिकृया दिनुहोस्