नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिराेहकाे भीआईपी जालो उजागर हुँदै गएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै महामन्त्री थापाले यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय रहेका बताएका छन्।
‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ’, उनले भनेका छन्।
उनले याे प्रकरणमा संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको भए पनि कानुनभन्दा माथि नहुने बताएका छन्।
महामन्त्री थापाले भनेका छन्, ‘यो घटना होइन प्रवृत्ति हो। अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन्। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन।’