नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहसचिवदेखि उच्च राजनीतिक नेतृत्व अनुसन्धानको दायरामा

भुटानी शणरार्थी बनाएर अमेरिका लैजाने भन्दै सयौं नेपालीबाट करोडौँ रकम असुल्ने प्रकरणमा पक्राउ परेका रकम उठाउने गिरोहका नाइके केशवप्रसाद दुलालले पूर्व गृहसचिव र उच्च राजनीतिक नेतृत्वको समेत संलग्नता रहेको बताएका छन।

प्रहरी हिरासतमा रहेका दुलालले सरकारी वकिलसँगको बयानका क्रममा ठुलो रकम असुलेर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा तत्कालीन गृहसचिव महेश्वर न्यौपाने र टेकनारायण पाण्डेदेखि तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) र बालकृष्ण खाँडको समेत संलग्न रहेको खुलासा गरेका छन्।

म्याद थपका क्रममा सरकारी वकिलको कार्यालयमा पुर्‍याइएका दुलालले आफूले समन्वयको काम गरेको स्वीकार गरेका छन।

उनले यस प्रकरणमा तत्कालीन गृहसचिव न्यौपानेदेखि तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) र उनका सल्लाहकार इन्द्रजीत राईको संलग्नतामा विभिन्न एजेण्टमार्फत् रकम उठाइएको बताएका छन्। दुलालले आफूले नेपालीलाई भुटानी शरणार्थी बनाएर ट्राभल डकुमेन्ट बनाउने र अमेरिका पठाउने योजनाको समन्वय गरेको भए पनि रकम संकलन गर्ने व्यक्ति अरु नै भएको जिकिर गरेका छन्।

नेपालीलाई अवैध ढंगले अमेरिका पठाउन गृह मन्त्रालयका अधिकारी र संयुक्त राष्ट्र संघीय शरणार्थी नियोग (युएनएचसीआर)को संलग्नतामा यो प्रकरण भएको उनको दाबी छ।

‘मैले रकम लिएको हो र सबैसँग समन्वय पनि गरेको हो,’ दुलालको भनाइ उदृत गर्दै स्रोतले बिएल नेपाली सेवासँग भन्यो। ती अधिकारीले अहिलेसम्म पक्राउ परेका तीन जना व्यक्तिलाई उनीहरु संलग्न भएको प्रमाण पुग्ने आधार प्राप्त भएपछि मात्र पक्राउ गरिएको र अनुसन्धानको आगामी बाटोसमेत तयार भइसकेको  प्रहरीले जनाएको छ।

प्रहरीले हालसम्म मोरङका केशवप्रसाद दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। उनीहरुको बयानको आधारमा बिहीबार मोरङ पथरीका पूर्व वडाध्यक्ष कृष्ण राईलाई पनि पक्राउ गरिएको हो। उनकाअनुसार एक अर्का पूर्व जनप्रतिनिधि पनि प्रहरी निगरानीमा छन्।

अब दुलालले बयानमा भनेअनुसार पर्याप्त प्रमाण जुटाएर यस प्रकारणमा आरोपित अन्यलाई पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ। पूर्व गृहसचिव पाण्डे हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत छन् भने न्यौपाने सेवाबाट अवकाश भइसकेका छन। पूर्व गृहमन्त्री थापा नेकपा (एमाले)को उपाध्यक्ष रहेका छन्।

पक्राउ परेका दुलाल नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला परराष्ट मन्त्री भएको बेला उनको सचिवालयमा बसेर काम गरेका थिए। दुलालले एजेण्डमार्फत् दाङ, मोरङ, पोखरा र पथरीका युवाहरुबाट १० देखि ४० लाखको दरले उठाएको करोडौँ रकम गृहका अधिकारीलाई बुझाएको बयान दिएका छन्।

त्यसका लागि उनीहरुले झापामा बाँकी रहेका शरणार्थीको विवरणअनुसार उनीहरुकै नाममा अमेरिका जान चाहेका युवाहरुको फोटो राखेर शरणार्थी परिचयपत्र बनाउने उनीहरुको योजना थियो। परिचयपत्रका आधारमा ट्राभल डकुमेण्ट बनाउने र उनीहरुलाई शरणार्थीको हैसियतमा अमेरिका पठाएर प्रत्येकबाट एक करोड रकम उठाउने उनीहरुको योजना सरकार परिवर्तनसँगै सेलाएको थियो।

पहिले काम गरिरहेका गृहसचिव न्यौपाने सरुवा भएपछि उनको ठाउँमा पाण्डे आएका थिए। नेपालीलाई भुटानी शरणार्थी बनाएर रकम असुली गरिरहेको गिरोहले सुरुमा पाण्डे र खाँडलाई बुझाउन केही समय लागेको थियो। केही समयपछि गृहसचिव र मन्त्री नै सहमत भएपछि पुन: युवाहरुबाट रकम उठाउन थालिएको थियो। रकम उठाउन फरक-फरक एजेण्टलाई परिचालन गरिएको थियो।

कोरोना कहरको बेला गाउँका युवाहरुबाट रकम उठाउने, काठमाडौँ, चितवन, मोरङको विराट मेडिकल कलेज र चितवनलगायतका विभिन्न ठाउँमा लिएर परिचयपत्रका लागि फोटो खिच्ने, बायोमेटिक विवरण संकलन गर्ने कार्यमा एजेण्टको परिचालन भएको थियो।

एजेण्टले उठाएको रकम दुलाललाई बुझाएको र दुलालले सो रकममध्ये केही रकम गृहका अधिकारीलाई बुझाएका थिए।

ऋण गरेको लाखौँ रुपैयाँ लिए पनि अमेरिका पठाउने काम नभएपछि पीडितले एजेण्ट र एजेन्टले उनीहरुले पैसा बुझाएका दुलाल र सन्देश शर्माको खोजी गरेका थिए। लगत्तै पीडित युवाले विभिन्न अदालत र प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

त्यस लगत्तै फरार भएका गजेन्द्र बुढाथोकी लगायतका एजेण्ट अहिले पनि पीडितको सम्पर्कमा आएका छैनन्। पीडितको सम्पर्कमा नआए पनि एजेण्टले गृह मन्त्रालयमै पुगेर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड र गृहसचिव पाण्डेलाई भेटेको हालसम्मको प्रहरी अनुसन्धानबाट खुलेको छ।

देशका विभिन्न स्थानमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी गरेको उजुरी दर्ता भएको समाचार सार्वजानिक भए पनि गृहसचिव पाण्डेको संरक्षणमा थप युवाहरुबाट समेत रकम उठाएको पक्राउ परेका व्यक्तिको भनाइ उदृत गर्दै प्रहरीले बताएको छ।

‘एजेण्ट भनिएका व्यक्तिलाई मन्त्रालयमा भेट्ने तर प्रहरीमा परेको उजुरी उपर कारबाही नहुनुले गृह प्रशासनमाथि पनि प्रश्न छन। ती सबैको अनुसन्धान हुन्छ,’ प्रहरी अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।

कसरी भयो संस्थागत ठगीको सुरुवात ?

गृह मन्त्रालयले २०७६ साल जेठ ३० गते पूर्व गुसहसचिव बालकृष्ण पन्थीको संयोजगत्वमा ३ सदस्यीय समिति गठन गरेकाे थियाे। साे समितिलाई झापाको भुटानी शणरार्थी शिवीरमा बाँकी रहेका शणरार्थीहरुको पुन: प्रमाणीकरण र शरणर्थी समस्या समाधानको विकल्प प्रस्तुत गर्न भनिएको थियो।

समितिमा गणेशबहादुर केसीलाई विज्ञका रुपमा राखिएको थियो। त्यसैगरी गृहमन्त्रालयका शाखाअधिकृत दीपकप्रसाद न्यौपानेलाई सदस्यका रुपमा राखिएको थियो। तर, समितिले झापामा ६ हजार भन्दा बढी शणरार्थी पहिले नै प्रमाणीकरण भइसकेको अवस्थामा गैरशरणर्थीलाई शणरार्थीको हैसियत दिलाउने र उनीहरुबाट रकम उठाउने गरी काम गर्याे।

गृह प्रशासनले भने अनुसारनै सो समितिले छुट भएका भनिएका शणरार्थीहरुको विवरणसहितको छुट्टै अनुसूची तयार पारिएको थियो। यस अवैध कार्यमा राष्ट्र सघंको शणरार्थी नियाेग, झापाका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिविधी र भुटानी शणरार्थी क्यापमा कार्यरत केही कर्मचारीको समेत संमग्नता रहेको देखिएको छ।

संख्या नखुलाएर मन्त्री परिषदमा सो प्रतिवेदन र अनुसूची पेस गरी गैरशणरार्थीलाई शणरार्थी बनाउने र उनीहरुबाट रकम उठाउने नियतका साथ विभिन्न एजेन्टहरु परिचालन गरिएको थियो।

प्रकाशित मिति: : 2023-04-03 20:40:00

प्रतिकृया दिनुहोस्