बागलुङको गलकोट–१० पाण्डवखानीस्थित ‘घुम्टे हाते कागज उद्योग’ वर्षदिनयता बन्द छ। जिल्लाको काठेखोला र तमानखोलामा खुलेका कागज उद्योगको नामनिसान छैन। ताराखोला–५ मा सञ्चालित दुई उद्योग पनि बन्द हुने स्थितिमा छन्।
पछिल्ला केही वर्षयता म्याग्दीका तीन नेपाली हाते कागज उद्योग बन्द भए। मालिका–३ को ‘मालिका कागज उद्योग’ मात्र अहिले सञ्चालनमा छ। छिमेकी पर्वतले पनि कागज उद्योग जोगाउन सकेन। यसरी धमाधम उद्योग बन्द हुन थालेपछि हाते कागजको पेसा नै सङ्कटमा परेको छ।
कागज उद्योगमा आश्रित गाउँलेले रोजीरोटी गुमाउन थालेका छन्। रैथाने सीप र उत्पादन हराएर जाने चिन्ता थपिएको छ। कोभिड–१९ महामारीअघि हाते कागजको माग धान्नै धौधौ परेको बताउने उद्योग सञ्चालकहरु अहिले निराश भएका छन्।
‘घुम्टे हाते कागज उद्योग’ का सञ्चालक चुराबहादुर घर्तीले उद्योग नै बन्द गरेर गाउँ छाडेको स्थानीय चन्द्रकुमारी श्रीसले बताइन्। 'सुरुमा समुदायले नै उहाँलाई उद्योगको जिम्मा लगाएको हो, केही वर्ष राम्रै चल्यो, अहिले बन्द छ', श्रीसले भनिन्, 'उद्योगको लगानी खेर जाने अवस्था आएको छ।'
तत्कालीन जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासङ्घलगायत सङ्घसंस्थाले उद्योग खोल्न सहयोग गरेका थिए। हाते कागज उद्योग खुलेपछि वनमा लोक्ता सङ्कलनदेखि प्रशोधन गरेर कागज बनाउनेसम्मका काममा गाउँले जोडिएका थिए।
गाउँमै उद्यमी भएर बस्न पाउँदा उद्योग सञ्चालक घर्ती पनि मक्ख थिए। उद्योगमा वर्षमा डेढ लाख थान कागज उत्पादन हुन्थ्यो। एक कोरी कागजको रु ११ सय मूल्य थियो। उद्योगबाट वर्षेनी झण्डै १० लाख बराबरको कागज बिक्री हुन्थ्यो। उद्योगमा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका थिए।
ताराखोला–५ को ‘डुडेलेक हाते कागज उद्योग’ का सञ्चालक हर्कबहादुर घर्तीले हाते कागज व्यवसायका लागि सीपयुक्त जनशक्ति, उन्नत प्रविधि र बजार प्रवद्र्धनको खाँचो औँल्याए। हाते कागजको बजार माग हेरेर उद्योग सञ्चालनमा ल्याइएपनि अहिले सञ्चालन गर्न हम्मे परेको उनको भनाइ छ।
'पहिले उद्योगमा छ जनाले काम गथ्र्यौँ, अहिले दुई जना मात्र छौँ', सञ्चालक घर्तीले भने, 'जेनतेन उत्पादन गरेको काजगलाई बजार पु¥याउनै हामीलाई गाह्रो भइरहेको छ, भाडा तिरेर काठमाडौँ लैँजादा उल्टै घाटा व्यहोर्नुपर्यो।'
एकातिर हाते कागजको बजार सहज नहुनु र अर्कातिर बिक्री भइ हाले पनि कम नाफा हुने भएपछि व्यवसायीले हात झिक्न थालेको उनको भनाइ छ।
कामदार अभावमा बेलैमा कागज उत्पादन गर्नसमेत नसकिएको सञ्चालक घर्तीले बताए। कोभिड–१९ यता उद्योगले थप चुनौती खेपिरहेको उनले उल्लेख गरे।
म्याग्दीको मालिका–३ स्थित ‘मालिका कागज उद्योग’ का सञ्चालक मोतीराज गौतमले गाउँमा काम गर्ने मान्छे नै पाइन छाडेको सुनाए। 'कागज बनाउन चाहिने लोक्ताको कमी छैन, गुणस्तरीय कागज बनाउन सके बजारको पनि समस्या छैन', उनले भने, 'बरु मुख्य समस्या जनशक्तिको छ।'
उनका अनुसार वनबाट लोक्ता सङ्कलन गरेर ल्याउन ठूलो जनशक्ति चाहिन्छ। व्यवसायीले सो कामका लागि ज्यालादारी श्रमिक खटाउने गर्छन्। लोक्क्ता झिके वापत सामुदायिक वनलाई शुल्क तिर्नुपर्छ। गौतमको उद्योगमा वार्षिक एक हजार छ सय कोरी कागज उत्पादन हुँदै आएको छ।
त्यहाँ उत्पादित कागज बेनी, बागलुङ हुँदै पोखरासम्म आइपुग्छ। सञ्चालक गौतमका अनुसार पाँचदेखि सात ग्राम (आकार २०-३०० सम्मको कागजको मूल्य साढे छ रुपैयाँ पर्छ। १५ ग्रामको रु १७ र २२ देखि २८ ग्रामको रु १९ मा बिक्री हुन्छ। गौतमले अन्य उद्योगबाट पनि खरिद गरेर कागज बेच्दै आएका छन्।
'ताराखोलामा कागज बिक्रीको समस्या रहेछ, म आफैँ गएर सकेजति उत्पादन गर्नुस् बजार म पुर्याउँछु भनेको छु, अघिल्लो महिना गएर डेढ लाखको कागज उठाए, त्यहाँका व्यवसायी उत्साहित हुनुहुन्छ', उनले भने। हाते कागज बनाउने व्यवसायमा गौतम अगुवा उद्यमी हुन्।
हाते कागज उद्योगको संरक्षणका लागि राज्यका निकायले सीप, प्रविधि र अनुदान सहायता दिनुपर्ने उनको माग छ। बिनाझण्झट उद्योग दर्ता र सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने गौतमले बताए।
उत्पादन गर्न सके हाते कागजलाई बजारको समस्या नरहेको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताए। 'लागत र मेहनत बढी लाग्ने हुँदा यसमा उद्यमीको आकर्षण कम छ', उनले भने, 'लगानी र प्रविधि भित्राएर ठूलो मात्रामा उत्पादन गर्न सके फाइदा छ।'
लगानी, दक्ष जनशक्ति र व्यवस्थापन अभावमा उद्योग बन्द भइरहेको उनले बताए। गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले नेपाली हाते कागजको व्यावसायिक प्रवद्र्धनका लागि उत्पादनमा विविधिकरण गर्नुपर्ने बताए।
उनले हाते कागजका लागि स्रोतको कमी नभए पनि उन्नत सीप, प्रविधि र दक्ष जनशक्ति अभाव रहेको बताए। 'बागलुङ, म्याग्दीलगायत गण्डकी प्रदेशका उच्च पहाडी भेगमा लोक्ता र अर्गेलीको प्रशस्त स्रोत छ', उनले भने, 'त्यसको दिगो उपयोग र संरक्षण गर्नु आवश्यक छ।'
वर्षेनी ठूलो मात्रामा कागज विदेशबाट आयात भइरहेका बेला स्थानीय कागजको प्रवद्र्धनका लागि राज्यले दायित्व लिनुपर्ने सचिव घिमिरेले बताए।
'कम्तीमा सबै सरकारी अड्डामा नेपाली कागजको प्रयोगलाई प्रोत्साहन गरौँ, नेपाली कागजबाट बन्ने हस्तकलाका सामग्रीलाई ब्राण्डिङ गरौँ', उनले भने।
सचिव घिमिरेले लोक्ताको पकेट क्षेत्र पहिचान गरेर दिगो उपयोगका लागि आवश्यक कानुनी प्रबन्ध, कार्ययोजना र नीति तय गर्नुपर्ने उल्लेख गरे। रैथाने सीपले मात्र बजार माग नधान्ने भन्दै उनले उन्नत प्रविधि भित्राएर ठूलो मात्रामा कागज उत्पादन गर्नुपर्ने बताए।
पछिल्लो समय लोक्ता फिट्न (झोल) बनाउन यन्त्रको प्रयोग हुन थालेको छ। केही वर्षअघिसम्म लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्ने गरिन्थ्यो। सरकारी कामकाज र हस्तकलाका सामग्री बनाउन नेपाली हाते कागजको बढी प्रयोग हुन्छ। नेपाली हाते कागज बलियो र टिकाउ मानिन्छ। रामबहादुर थापा