‘ऊ धेरै बाँच्नाले नै देशको स्वास्थ्य अवस्था हरिनास भएको हो। उसलाई अमर हुने रोग छ, सो रोगको साइड इफेक्ट (असर) भनेको देश अल्पआयुमै मर्नु हो,’ उसले कागजको चियाकप कच्याककुचुक पारेर फ्याल्दै बोल्यो।
‘त्यो पनि होइन, बेटा। एउटा मान्छे धेरै बाच्नुले कसरी देशको स्वास्थ्य गुणाङ्क कम हुन्छ ? हरेक मान्छेलाई बाच्ने अधिकार छ। ६० वर्षअघि जन्मेका हरेक मान्छे ८० वर्ष बाँच्छन। हेरिराख, आजकाल जन्मेका भराभुरीहरू ६० मै सिल्टिमाेर खान्छन्,’ अर्को कपमा चिया खन्याउँदै साहुजी बोल्यो।
‘हेर ! साहु, ऊ जन्मिनुपर्ने मान्छे पनि होइन। यतिका वर्ष बाँचिसक्यो। अब मरोस्। ऊ जति बाँच्छ, यो देश उति मर्छ। मेरो कुरा यत्ति हो। ऊ कि आत्महत्या गरेर मरोस्, हाेइन भने उसलाई हर्टएट्याक दिन हामलाई पनि आउँछ’, ऊ कपको चिया हुत्ताएर हिँड्यो।
‘अनि सुन्, म ८० वर्ष बाँचेर देखाइदिन्छु,’ उसले टेबलमा छाडेको लाइटर उठायो। लेखकको अनुमान छ, ऊ माइतीघरतिर टाउको फुटाइरहने कुनै आलोकाँचो तन्नेरी हुनुपुर्छ। उसको कुमले रित्तो चियाकपमा दख्खल पुग्याे। च्वास्सै चियाकपमा उसको कुइनो बजारियो।
कागजको कप टेबलमा लिन्ठीङलिन्ठीङ हल्लिरह्यो। साहुजी सोही कप जस्तै भए। कप स्थिर होला–होलाझैँ गरेर पनि स्थिर हुन नसकेर ड्वाङ्गै लड्यो। कप टेबलमुनि उधोमुन्टाे लागेर अलिकति दूध चिया ओकलिरह्यो। गिलासको र्याल चुहिएकाे देखेर साहुजी आफ्नो सम्झनामा हरायो। अतीतको विस्मृतिकाे पिँधमा बसेर र्याल चुहाइरह्याे।
०००
साहुजीको स्मृतिमा एक जमाना थियो, जहाँ स्वास्थ्यकर्मी, औषधि, निदानात्मक प्रविधि र अस्पतालको आक्रामक प्रचारभन्दा कम मूल्यमा झाँक्रीहरू पाइन्थे। उनीहरू के–के जाति तन्त्र-मन्त्र गर्दथे। र, रोग निर्मुल पारेरै छाड्थे। झाँक्रीहरू एक/दुई कुखुरा माग्थे। अलिकता रक्सी माग्थे। केही माना चामल माग्थे। जे–जे मागे पनि रोग ठीक पार्दथे। हो, दश कडा ८ जना मर्थे। मरुन्। के भो त ? बाच्नै नचाहनेहरू मर्थे। बाच्नु रोग हुनेहरूलाई मृत्यु औषधि सिद्ध हुन्थ्यो। यसमा धामी-झाँक्रीहरूको के दोष ? ऊ बेला पनि मान्छे ८० वर्ष बाँचेकै हुन्। आजका ठेट्नाहरू ६० वर्ष बाच्नलाई ६० लाख खर्च गर्छन्। सब वाहियात।
साहुजीलाई ऊ बेलाको वनस्पति तथा जडीबटुीमा आधारित आर्युबेद तथा प्राकृतिक उपचार प्रणाली निको लाग्थ्यो। ऊ पटक–पटक भनिरहेकै हुन्थ्यो,‘पश्चिमाहरू आएर पाँच रुपैयाँको सिटामोल दिएर टाउको दुख्न निको पार्दिने काम गरे। झटपट टाउको दुख्न ठीक हुनाले यताकाहरूले यताका धामी-झाँक्रीलाई अन्धविश्वास गर्न थाले। एलोपेथिक चिकित्सा प्रणाली (सिटामोल) धामी-झाँक्रीको जति कसको टाउको दुखाएको होला र ?’ साहुजीका अनुसार सिटामोल आउनुको कारण सुगौली सन्धि हो। सन्धि हुँदैन थियो त, मनोचिकित्सक (धामी/झाँक्री)हरूको विश्वासमा यति मन्दी हुँदैन थियो।
०००
‘भयो, धेरै गफ नहान्डाक्टर बाबु। तिमीहरू मिस्त्री हौँ। ऊ त्यो… घर बनाउने, रड उचाल्ने, सिमेन्ट बोक्ने हर्षे, मनमाये र कुन्नि के अरे त्यसको नाम ? केशवराजजस्तो,’ साहुजी उम्लिएको चियालाई कागजको कपमा खसाल्दै भन्दै थियो। दिनभर रगत-पिसाब चेकजाँच गरेर आएको डाक्टर महेन्द्र
चियासिया नखाई निस्किदिऊ क्यारे भन्ने मनोभावमा पुगिसकेको थियो। ‘उही बेलाको टाइम काइदाको थियो’ भनेर गनगन गरिरहने यस बुढाको मुखमै एक मुक्का दबाएर निस्किजाने मनोदशामा डाक्टरसाब पुगिसकेका थिए।
‘तिमी (देश)ले जडान बाहेक के गरेका छौँ ? चिकित्साशिक्षा, औषधिहरू, जाँच/बुझ प्रविधिहरू त तिमीहरूले पोलेर खाइहाल्यौँ। बढ्ता फुइँलाउन चाहिँ पर्दैन। आफूसँग भएका कच्चा पदार्थहरूलाई नचिन्ने तिमीहरू पाखण्डी हौँ। ल्याऊ चिया,’ साहुजीको नशा बटारिएको हत्केलामा तातो चिया घोप्टाइदिऊ घोप्टाइदिऊ लागेको थियो, डाक्टरसाबलाई।
तर, डाक्टर साहुजीको हातको चियाको पारखी थिए। यो बुढोको किचकिच सुन्नुकाे एकैकारण थियो, उसको हातमा ईश्वर आएर बसेका थिए। डाक्टर यदि ईश्वर हुन् भने डाक्टर आएर बसेका थिए। तर, यो बुढो अत्याधुनिक डाक्टरहरूलाई पत्ताउँदैन। यसकारण साहुजीको हातमा धामी/झाँक्री आएर बसेका थिए भन्दा उपयुक्त सुनिएला। नसुनिए भुत्रै सित, सबै कुरा सुनिनपर्छ भन्ने के छ ? साहुजी पैसाकाे अभावमा आफ्नो स्वास्थ्यअधिकार उपभोग गर्न नपाएर विरक्तिरहेको कुरा कसले सुनेकाे छ र ?
डाक्टर महेन्द्रले त्यति मीठो चिया अन्त कतै खाएकै थिएनन्। महेन्द्रलाई सुगठिलो तरुनीको छातीको एक्स-रे गर्नुभन्दा मीठो-मनोहारी मनोभावना यो बुढोको गाली सुनदै चिया पिउनुमा आउँथ्यो। ‘मीठोलाई यहाँ गुलियोसँग नदाँजियोस्, तुलना नगरियोस् भन्ने अनुरोध लेखकले गर्दिए हुने हो तर, साहुजीको किचकिच सुन्दासुन्दै पनि त्यतापट्टि लागिहाल्न भ्याएको छैन। लेखक आफैँ धामी-झाँक्री विद्याको अन्तर्य नियाल्नको लागि एउटा बुढालाई कथामा उभ्याएर चिया बेचाइरहेको छ। र, यो पक्का कुरा हो, यतिबेलासम्म लेखकले त्यति मीठो चिया पिएको छैन, जुन भर्खरै उसले डाक्टर महेन्द्रले पियो भनेर लेखेको छ। यतिबेला लेखक डाक्टर महेन्द्रसँग दुश्मनी मोल्ने माहाेलमा पुगेकाे छ। यसैकारण उसले डाक्टर महेन्द्रलाई एक वाक्य पनि बोल्न नदिएर कथा प्रसङ्गबाट निकाली फ्याँक्दिएको छ।
०००
‘औँलाेमा घाउ लाग्यो ? रगत निस्कियो ? मुखमा औँलो हालेर रगत चुस्। त्यो जाँठो ह्यान्डीभ्यान्डीभन्दा यही ठीक छ,’ साहुजी आफू कहाँ अकस्मात् आइपुगेकाे नाैलाे ग्राहकलाई अर्ति बाँड्दै थियो।
ह्यान्डीभ्यान्डीको अर्थ ह्यान्डीप्लास्ट हो भन्ने प्रस्तावना लेखकले शब्दकोशलाई बुझाइसकेकाे छ। अन्दाजी १५/१६ वर्षको सो केटो औँलो समाएर के गरौँ, के नगरौँको दोधारमा थियो। उसलाई ह्यान्डीप्लास्ट चाहिएको थियो। तर, साहुजीले त्यसो नगर्नु भन्ने हुकुम दिइसकेको थियो। केट्यौली (केटाकेटीहरू)को एउटा केटाकेटीपन हुन्छ, नगर भनेकै कुरा गर्नुपर्छ। सो केट्यौली केटोले केटाकेटीपन देखाएरै छाड्यो। ह्याण्डीप्लास्ट औँलोमा लगाउँदै आएर टेबलमा थपक्क बस्यो र भन्यो,‘खै चिया भएन ?’
‘भएन। बाबु, तिम्रो लागि मेरो तर्फबाट चिया भएन,’ साहुजीको उँचो स्वर सुनेर केट्यौली केटोको केटाकेटीपनमा अघि जस्तै कुनै घाउ भयो। सो घाउको ह्याण्डीप्लास्ट खोज्न केट्यौली केटोको केटाकेटीपन टेबलमा ढ्याङ्ग हात बजारेर अर्को कुनै चिया पसल छिरेको अनुमान लेखकले गरेको छ।
०००
‘देउतालाई भाकल गरेर रोगको उपचार हुन्थ्यो। हुन्थ्यो त नि, चिसोले मर्न लागेको बिरामीलाई खसीको तातो झोल खुवाएपछि किन ठीक नहुने त नि ? एक जना निको भएर हुन्छ ? ९ जना त्यही उपचार विधिले मर्थे। सुझ्न न बुँझु हरेक रोगका बिरामीलाई खसीको तातो झोल खुवाएर मारेका हुन्थे, तिम्राे बाउले। बढ्ता टुपी ठूलो गर्दैछौँ ? हाम्ला थाहा छैन, तिम्रो बाउ कस्ता थिए भनेर ?’, साहुजीको दिमागमा यतिबेला तातो चिया उम्लिरहेको थियो।
साहुजीको अहम्मा ग्यास चुल्हाेकाे आगो ठूलो पार्दिएर कृष्णलाल अदुवा कुटिरहेका थिए, ल्वाङ भुटिरहेका थिए। कृष्णलालले निमपत्ता भेट्टाएनन्, यही निहुँमा उनी बोले,‘लामखुट्टेले डसेर तिमी झन्डै खुइक्या थियौँ, फुइँलाउँछाैँ। तिम्रो बाउले त्यो बेला तिमीलाई मरे पनि मरोस् भनेर छोडेका थिए। पछि चनौटेको सितेले ओखती नगरेको भएर तिमी हिँडिसक्ने। सितेले त ऊ बेली मैले भ्याउँदिनँ, ढक्के काकालाई विरस् अस्पताल (वीर अस्पताल) लानुपर्छ भनेकाे थियाे। धन्न, ठीक भयौँ। तर, तिम्रो दिमाग अझै नि लामखुट्टेले फूल पार्दिराछ कि जस्तो लाग्छ मलाई।’
०००
ढक्के साहुजीको दिमागमा अब चियापत्ति खन्याउन बाँकी थियो, कृष्णलाल फेरि बोले,’कालिजको हड्डी अड्केर धनेको छोरो धन्नै मरेको होइन ? त्यसलाई बचाउँन तिम्रो बाउले चिउरा कुट्न अह्यायाे। ४ दिन ४ रात धानेको घरमा ढिकी चल्यो। त्यो कुन्नी के नाम हो त्यसको..शिवे हो क्यारे। शिवेले ४ दिनमा ४ पाथी चिउरा खायो। निलै फर्केसी विरस अस्पताल ल्याएर बचाको होइन ? हेर न, घाँटीको घाउले गर्दा त्यो अझै राम्ररी बोल्न सक्दैन। शिवे अस्ति गाउँगाको रहेछ, आइमाईको जस्तो स्वर छ, बजियाको। अलिकति चम्केर हिँड्ने हो भने ठ्याक्कै हाम्रा स्वास्नीहरूकाे जस्तै देखिन्छ, बज्जे।’
ढक्के साहुजीको दिमागको राप लगभग उम्लिने खतरामा थियाे। कृष्णलालको ग्यास चुल्हाे अलि सानो बनायो। उसलाई अब थोरै चिनी राख्नु थियो। तर, चिनीको बट्टा भेटिरहेको थिएन।
‘हैन हो, ढक्के यो गलगाँड बोकेर कहिलेसम्म जिउने विचार हो तिम्रो ? जिन्दगीभर भोटेनुन खाएर हुन्छ कि क्या हो ? खै चिनी पनि छैन, त्यही भोटेनून भए नि ल्याऊ–ल्याऊ। त्यही हाल्नुपर्याे। मलाई नि आजकाल चिनी खानु हुँदैन। नुन चिया खाऊ भनेको छोरोले,’ कृष्णलालको छोरो डाक्टर रहेको होला ? यो अनुमान यसै गर्न सकिन्न, किनभने कृष्णलालको छोरो नभएको छनक लेखकलाई छ। उसो भए, नून चिया खाऊ बाउ भन्ने छोरो को होला ? यो प्रश्न अलि पिरो–पिरो स्वादको भयो। यो पिरोपन ढक्के साहुजीको उम्लिरहेको दिमागी चियामै खन्याइदिऊ।
लौ त अस्त !