बारा २ उपनिर्वाचनः सर्वदलीय बैठक बस्दै

बारा क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना आज बिहानबाट हुने भएको छ।

गए रातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानबाट मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए। 'आज बिहान ७ बजे सर्वदलीय बैठक राखिएको छ', उनले भने, 'सर्वदलीय बैठकका लागि दलका प्रतिनिधि आउन थाल्नुभएको छ, बैठकलगत्तै मतगणना सुरु गर्छाैं।'

सम्भवत बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने हाम्रो तयारी छ उनको भनाइ छ। मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयास्थित शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ। बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो।  

महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण  र देवताल गाउँपालिकाको ४४  वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता  छन्। सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।  

प्रकाशित मिति: : 2023-04-24 06:52:00

प्रतिकृया दिनुहोस्