स्व.पत्रकार लोहनीकी बहिनी विजयालाई क्यान्सर, सहयोगका लागि गरिन् अपिल

झापा घर भइ हाल काठमाडौँको पेप्सीकोलामा बस्दै आएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गरेकी छन्। पत्रकार स्व.इन्द्र लोहनीकी कान्छी बहिनी विजयाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश/विदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोगका लागि अनुरोध गरेकी हुन।

उनी तीन वर्षयता क्यान्सर रोगसँग लडिरहेकी छन्। ‘उपचार प्रक्रिया महँगो छ। तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ। त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि आग्रह गरेकी हुँ,’ उनले भनिन्।

उनलाई तीन वर्ष अगाडि पाठेघरको क्यान्सर देखियो। त्यसको १० महिनापछि फोक्सोमा पनि क्यान्सर देखिएको थियो। त्यसलगत्तै क्यान्सर ठुलो आन्द्रामा सर्‍यो। ललितपुरको हरिसिद्धि अस्पतालमा उपचार गरेपछि स्वास्थ्यमा सुधार नआएको उनले बताइन्।

क्यान्सर पीडित विजया एक वर्षयता भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन्। उनकाअनुसार अढाई महिनाको अन्तरालमा एकपटक दिल्ली जानुपर्छ। ‘तीन वटा किमो गरेर ७५ दिनमा एकपटक दिल्ली जानुपर्छ। त्यहाँ स्वास्थ्य परिक्षण हुन्छ। औषधि दिल्लीबाटै ल्याएर बी एन्ड बी अस्पतालमा किमो लिने गरेकी छु,’ उनले भनिन्।

मध्यम वर्गीय किसान परिवारमा हुर्किएकी लोहनी उपचारकै क्रममा एक करोड ५० लाख रुपैयाँ ऋणमा परेकी छन्। देश र विदेशमा बस्ने साथीहरूले सहयोग गरिरहेको उनले बताइन्। ‘दुवै छोरा पढ्दैछन्। म बिरामी भएपछि ठुलो छोराको पढाइ छुट्यो। तर, साथीहरूले निर्ब्याजी आर्थिक सहयोग गरिरहनुभएको छ,’ उनले भनिन्।

उनले एकपटक दिल्ली जाँदा सम्पूर्ण परीक्षणको तीन लाखदेखि पाँच लाख रुपियाँ लाग्ने बताइन्। उनकाअनुसार औषधिसहित अन्य मासिक खर्च एक लाख रुपैयाँ छ। ‘५३ वटा किमो लिइसकेकी छु। अब ठुलो आन्द्राको शल्यक्रिया गर्नुपर्ने छ, त्यसका लागि चार लाख रुपैयाँ लाग्छ। सबैमा मेरो अनुरोध छ, सकेको सहयोग गरिदिनुहोला,’ उनले भनिन्।

क्यान्सरले स्वास्थ्यमा गम्भीर समस्या आएपछि लोहनीले अहिले आफ्नो दाजुलाई सम्झिरहेकी छन्। ‘रोग त लाग्थ्यो होला तर दाजु हुनुभएको भए रोग लागे पनि मेरो उपचार सहजै हुन्थ्यो होला,’ उनले भनिन्।

क्यान्सर पीडित विजया लोहनीलाई सहयोग गर्नका लागि उहाँको प्रस्तुत बैङ्क खातामा रकम जम्मा गर्न सक्नुहुनेछ।

विजया लोहनी

सनराइज बैङ्क लिमिटेड

खाता नं. ०३२०६४८४७८२०२००१

फोन नं. ९८४२०६६२५४

प्रकाशित मिति: : 2023-04-23 15:30:00

प्रतिकृया दिनुहोस्