राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कोर टिममा उनकै श्रीमती निकिता पौडेल, पार्टी उपसभापति डोलप्रसाद अर्याल र केन्द्रीय सदस्य दीपक बोहोरा भएको खुलासा भएको छ।
पार्टीको अनुशासन आयोगमा वयान दिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित भनिएका सांसद डा. ढाकाकुमार श्रेष्ठले कोर टिमको खुलासा गरेको आयोगका एक सदस्यले बिएल नेपाली सेवालाई बताए। स्राेतकाअनुसार पाैडेल, अर्याल र बाेहाेरासँगै त्याे टिमका सबैभन्दा हर्ताकर्ता अर्का पात्र हुन्, महामन्त्री मुकुल ढकाल।
वयानका क्रममा डा. श्रेष्ठले दुई करोड काण्डको टेपको स्वर आफ्नो नभएको दाबी गर्दै पार्टीले आफूलाई बलीको बोको बनाउन नमिल्ने पनि बताएका थिए।
आफू चौतर्फी घेराबन्दीमा परेर एक्लो भएको बेला पार्टीले उल्टै आफूमाथि कारबाही गर्न लागेकोमा आपति जनाउँदै आफूमाथि कारबाही गरिए कोर टिमको फेहरिस्त सार्वजनिक गर्ने चेतावनी पनि डा. श्रेष्ठले दिएका थिए।
सांसद डा. श्रेष्ठले अभियोग अस्विकार गरे पनि आयोगले भने उनलाई कारबाही गर्ने लाइनमै प्रतिवेदन तयार गरेको ती सदस्यले बताए।
अनुशासन आयोगको चारपाने प्रतिवेदन इमेलमार्फत् पार्टी सभापति रविलाई पठाइसकिएको जानकारी दिँदै उनले प्रतिवेदनमाथि अन्तिम निर्णय केन्द्रीय समितिको बैठकको लिने पनि उनले बताए।