प्रकृतीको नाममा नेपाली विद्यार्थीका लागि ‘छात्रवृत्ति कोष’ स्थापना गर्ने केआईआईटीको घोषणा

Break n Links
Break n Links

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले स्वर्गीय प्रकृती लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ।

युनिभर्सिटीले सामाजिक सञ्जाल एक्समार्फत प्रकृतीको सपना जीवित रहने आश्वासन दिएको हो। उसले युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले प्रकृतीका बुबा र काकासँग भेट गरेको पनि जनाएको छ।

कलेजले भनेको छ, ‘अच्युत सामन्तले प्रकृतीका बुबा र काकालाई भेटेर प्रकृतिको सपना जीवित रहने आश्वासन दिनुभयो। उनको सम्झनालाई सम्मान गर्न र उनका बुबाको इच्छा अनुसार, केआईआईटीले उनको नाममा नेपाली विद्यार्थीहरूको लागि विशेष छात्रवृत्ति सुरु गर्नेछ। यो पहलले प्रकृती जस्ता धेरै प्रतिभाशाली विद्यार्थीहरूलाई कुनै बाधा बिना आफ्नो शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नेछ।’

सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँग भेट गरेका थिए। त्यस्तै सामन्तले नेपालका परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकसँग टेलिफोन वार्ता गरेको बताएको छ।

कलेजले भनेको छ, ‘प्रा. सामन्तले नेपाल दूतावासका काउन्सिलरहरूसँग पनि भेट गर्नुभयो र नेपालका विदेशमन्त्री र गृहमन्त्रीसँग फोनमा कुरा गर्नुभयो, यस विषयमा गरिएका कार्यहरूको बारेमा जानकारी गराउनुभयो।’

आइतबार बुटवलकी २० वर्षीय प्रकृती लम्साल केआईआईटीको होस्टलमा मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद रहेको भन्दै नेपाली विद्यार्थीले छानबिनको माग गरेपछि कलेज प्रशासनले अमानवीय व्यवहार गरेको थियो।

विद्यार्थीलाई जबरजस्ती निष्कासन गर्दै अलपत्र छोडेपछि कलेजको नेपाल र भारतमा व्यापक विरोध भएको थियो।

यसैबीच १०० भन्दा बढी नेपाली विद्यार्थीहरू नेपाल फर्किसकेका छन्। घटनाबारे अनुसन्धानका लागि ओडिसा सरकारले छानबिन समिति गठन गरेको छ। नेपाल र भारतका दूतावास स्थिति सामान्य गराउँन सक्रिय छन्।

कलेजले नेपाली विद्यार्थीको निलम्बन फुकुवा गर्दै कलेज फर्किन आग्रह गरेको छ।

प्रकाशित मिति: : 2025-02-20 12:27:00

प्रतिकृया दिनुहोस्