बालेनले सरकार टिकाउ नभएकाे गुनासाे गरेपछि प्रधानमन्त्रीले भने- ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ५ वर्ष टिक्ने दाबी गरेका छन्।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक सम्मेलनमा मेयर बालेन साहले केन्द्र सरकार टिकाउ नहुँदा स्थानीय तहहरूलाई समस्या परिरहेको गुनासो गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।

सम्मेलनमा मेयर बालेनले सरकार टिकिरहे स्थानीय तहलाई सजिलो हुने बताएका थिए।

‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ। तर, उहाँहरूको सरकार टिक्दैन। यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ’, मेयर बालेनले भने, ‘म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले याे सरकार ५ वर्षसम्म टिक्ने भन्दै ढुक्क हुन आग्रह गरे।

‘मेयरज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु’, उनले भने, ‘तपाईं ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’ 

प्रकाशित मिति: : 2023-03-29 14:03:00

प्रतिकृया दिनुहोस्