‘सुतेका बाघ हौँ,जिस्काए जेपनि हुनसक्छ’(भिडियाेसहित)

५९ सुत्रीय माग राखेर विभिन्न किसान संगठनहरुले सडक प्रदर्शन गरेका छन्। बुधबार काठमाडौंको माइतीघरमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)लगायतका संगठनहरुले प्रदर्शन गरे।

प्रदर्शनमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)अध्यक्ष चित्रबहादुर श्रेष्ठले आफ्ना मागहरु पूरा नभए यो आन्दोलन थप बढ्दै जाने बताए। लोकतन्त्र स्थापनाका लागि किसानहरुले बलिदान गरेको स्मरण गर्दै उनले किसानका माग छिट्टै पूरा गर्न सरकारसँग आग्रह गरे। ‘यो व्यवस्था ल्याउन किसानले ठुलो बलिदानी गरेका छन्,’ श्रेष्ठले भने, ‘यो व्यवस्थाले पनि नेपाली किसानको समस्या समाधान गर्न रुची देखाएन भने हामी थप आन्दोलनमा जान बाध्य हुनेछौँ।’

यस्तै अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले किसान सुतेको बाघ रहेको चेतावनी दिए। ‘किसान सुतेको बाघ हो। सरकारले सुतेको बाघलाई नजिस्काओस,’ उनले भने, ‘सुतेको बाघ उठेपछि नराम्रो हुन्छ। राज्यले क्षति बेहोर्नुपर्छ।’ बाँस्कोटाले पनि किसानका मागहरु छिट्टै पूरा नभए सत्तापक्ष र विपक्ष नभएर किसानहरु आन्दोलन गर्न बाध्य हुने बताए।

आन्दोलनरत किसान संगठनहरुको किसानले समयमै मल बिउ पाउनुपर्ने, कृषिमा वैदेशिक लगानी भित्र्याउनु नहुने, भूमि बैंक स्थापना गर्न नहुँने, मिटर व्याज, महंगी, लघुवित्तले गरेको ज्यादती रोकिनु पर्ने, किसानले उत्पादन बजारीकरण हुनुपर्ने, सुकुम्बासी समस्या समाधान हुनुपर्ने लगायत ५९ सुत्रे माग रहेका छन्।

बुधबार उनीहरुले स्थानीय किसानलाई संरक्षण गर, किसानलाई मलखादको सहज आपूर्तीको व्यवस्था गर, किसानका ५९ सुत्रे माग पूरा गर, मिटर व्याजीलाई कडा कारबाही गर, सहकारीलाई कारबाही गर, खाद्य सम्रभुता कायम गर, कृषि क्रान्ति जिन्दावादलगायत नारा लगाएका थिए।

प्रदर्शनमा नेकपा (एकिकृत समाजवादी)निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ(अप्फा), माओवादी क्रान्तिकारीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघको सहभागीता थियो।

भिडियाे:

प्रकाशित मिति: : 2023-03-22 16:39:00

प्रतिकृया दिनुहोस्