यामखार भिरैभिर घस्दुङसम्म…

सुवास राई

रुकुम पूर्व
Break n Links
Break n Links

म भन्दा छिटो साथीहरू उठेछ्न्। मलाई पनि उठाए। यत्तिकैमा महेश सरले- लौन उज्यालो भइसक्यो काम छिटो सकेर जानुपर्छ, भन्नुभयो। मैले मोबाईल तानेर समय हेरेको बिहानको ५:४० भएको रहेछ। अलिक उज्यालो भएको छैन भनेर अर्कोतिर फर्केर आँखा चिम्म गरेर सुतिरहें। तर यतिकैमा तीन साथीहरू उज्यालो र समयको विषयमा गफ गर्न सुरु गरे।

एकैछिनमा गफ तर्क/वितर्कमा परिणत भयो। त्यसपछि पृथ्वीदेखि चन्द्रमासम्म, नेपालदेखि अमेरिकासम्मको बारेमा चर्को बहस चल्यो। म एकछिन सुनेपछि उठेर हातमुख धुँदै बार्दलीबाट मैकोट गाउँतिर हेरें। गाउँमा उज्यालो झरिसकेको थियो। घरका छानाहरूबाट पुलुपुलु धुवाहरू हावासंगै मिसिएर विलीन हुदै थियो, मान्छेहरूको चहलपहल बढ्दै थियो। हिजो हामीलाई लिएर आएको गाडी पनि हर्न बजाउँदै फेरि रुकुमकोट फर्कदै थियो। साथीहरू हार मान्ने छाट्काट छैन। अझै गहकिलो तर्कहरू राख्दै थिए।

मलाई फेरि त्यहाँ बस्न मन लागेन, बिहानैदेखि आगो बालेको धुवाँको गन्ध आइरहेको थियो। यसो भान्सा कोठामा गएको- होटलको दिदीले हाम्रो लागि खाजा ६ वटा कोदोको रोटी बनाइसकेर मकै-भटमास भुट्दै हुनुहुँदो रहेछ। आगो ताप्दै एकैछिन् त्यहीँ बसेर फेरि कोठामा गएँ। साथिहरू हार मान्ने वा सहमत हुने कुरै थिएन, उज्यालो भयो। बाँकी कुरा पछि गरौंला अहिलेलाई यति भनेर छफफल स्थगित गरेर आफ्नो कामतिर लागियो।

नजिकैको मैकोट थान अवलोकन गरियो। त्यस थानमा विशेष गरी पुन मगरको पुर्खाहरूले गोरु काटेर चढाउने परम्परा थियो रे। मन्दिर (पुजा थान)सँगै घरको एकजना स्थानीयले यो कुरा सुनाउनुभयो । तर, आजभोलि भेडाको साढेलाई बलि दिने परम्परा रहेछ। एकैछिन काम भाग लगाएर गर्ने सल्लाह भयो। त्यही अनुरुप सुरज र महेश सर आकाशबाट मैकोटको भिडियो खिच्न ड्रोन बोकेर डाँडातिर जानु भयो। म र रविन सर चाहीँ क्यामेरा र गो-प्रो बोकेर बस्तीभित्रका गतिविधि र परिवेशलाई कैद गर्न गल्ली भित्र पस्यौं।

हामीले सकेसम्म आधा घण्टामा काम सकाएर एकै ठाँउमा जम्मा भएर सम्झानाका लागि केही फोटो र भिडियोहरू खिच्यौं। होटल फर्किदा आवश्यक सामानहरू किन्यौं। चाउचाउ, बिस्कुट, चक्लेट, लाइटर र पानीको बोतल किनेर फर्किदासम्म ८:३० बज्न लागि सकेको थियो । छिटोछिटो झोला मिलाएर हाम्रो लागि बनेको खाजा सुरज सरको झोलामा राखेर हिँड्न तयार भयौं। तर होटलको दिदीले भोटे चिया बनाईदिनु भएको रहेछ। त्यो चिया खाईसक्दा ९ बजिसकेको थियो।

१२ बजे पेल्मा पुगेर खाना खाने सल्लाह गरेर मैकोटगाउँको बीच बाटो हुँदै उकालो हिड्न सुरु गर्यौ, विद्यालयको छेउ हुँदै उकालो निक्लेर जङ्गल पस्ने बेला एक पटक मैकोट गाउँतिर नियालेर हेर्दा पुरानो परम्परागत बाक्लो बस्ती एकातिर, अर्कोतिर नयाँ घरहरू बनेको र बन्दै गरेको घामको न्यानोपनसँगै मानिसहरू बिस्तारै दैनिकीतिर फर्कदै थिए।

पारी डाँडाले सेतो हिउँ ओढेर बसेको देखिन्छ। त्यो डोल्पाको सीमाना रहेछ। मैकोटका स्थानीयवासीहरू यार्सागुम्बा टिप्ने समयमा त्यहाँ सम्म पुग्दा रहेछन्। प्रायः सबैतिर सुख्खा छ कतै कतै सल्ला र बाजको रुखहरू मात्र हरियो देखिन्छ। तथापि हामीलाई यही परिवेश सुन्दर लाग्छ यसैमा रमाइलो मान्छौं। हामी चार जनाको लागि त्यो यात्रा नयाँ त थियो तर बाटो भुलिने संभावना भने थिएन। किनभने एउटै थियो मुलबाटो।

उकालोमा बाक्लो सल्लाको रुखहरू र रुखको पातहरू बाक्लो झरेको। रविन, सुरज र महेश सरहरू लौरोबिना सजिलै हिड्न सक्थे तर म लौरो टेक्दा पनि सल्लाको पातमा चिप्लिएर उँधो झर्थें। सायद दुई साल पुरानो जुत्ताको ग्रीपले काम नगरेको हुनुपर्छ।
प्रायः जसो उकालो ओरालो होस् अथवा तेर्स्रो महेश सर पछाडि हिड्नु हुन्थ्यो। फेरि तिनै जनाले महेश सरलाई जिस्काउन सुरु गरियो। आज पनि धेरै जस्तो छाडा बोलियो किनभने उकालो हिड्नु जो छ। बल्ल-बल्ल उकालो र जङ्गल सँगै सकियो। त्यतिन्जेल हामी पनि गलिसकेको थियौं। एकैछिन आराम गरेर डर लाग्दो भीरको बीच भएर बाटो काट्न ३० मिनेट लाग्यो। भीर सकिएपछि एउटा सानो गाउँमा पुग्यौं। त्यस गाउँका नानीहरू नौलो मान्छे देखेर हेर्न आए। म क्रमशः सबै जनाको नाम सोध्छु साबैले आफ्नो नाम भन्छन्।

म सानो हुँदा कोही नयाँ मान्छेले नाम सोध्दा लुक्ने गर्थें। मलाई झल्यास्स बाल्यकाल दिनको याद आइहाल्छ। सम्हालिदै तिम्रो विद्यालय कहाँ छ भनेर सोध्छु समृद्धि बैनीले मैकोट भन्छिन्। नानिहरू भीरको बाटो पार गरेर पढ्न मैकोट जाने गर्दा रहेछन्। ओहो म झसङ्ग हुन्छु। यसो गोजी छाम्छु गोजीमा दुई सय रुपैयाँ मात्र रहेछ। त्यही पनि निकालेर स्कुल गएर राम्रो पढ्नु है भन्दै नानीबाबूहरूलाई दिन्छु। उनीहरू पनि खुसीसाथ स्वीकार गर्छन्।

मेरो बैंक खातामा रकम राम्रै थियो तर त्यहाँ काम नलाग्ने। रविन सरसँग नगद थियो उहाँ अलिक अगाडि हिडिसक्नु भएको थियो। अरु तीन जनाको नाम बिर्सिएँ। तर एक जना बहिनीको नाम समृद्धि पुन हो। धारामा दुई घुट्की पानी खाएर यसो हेर्दा रविन सर पारी पुगिसक्नु भएछ। सुरज सर फोटो खिच्न थाल्नु भएछ र महेश सर तल्लो घरमा बोल्न नसक्ने आमासँग साङ्केतिक भाषामा गफ गर्नुहुँदै रहेछ। नानीहरूलाई बाई-बाई भन्दै म अगाडि बढन्छु। र रबिन सरलाई भेट्ने गरी छिटो-छिटो हिँड्छु र सफल पनि हुन्छु। करिब पाँच मिनेटको उकालोसँगै हिडेपछि चौतारीमा बिसाएर महेश सर र सुरज सरलाई पर्खिन्छौं। 

बिहान ११ बाजेको चर्को घाम छ। हावा पनि अल्छीले होला चल्न छोडेको। मान्छेलाई पनि हिँड्ने जाँगर छैन। यत्तिकैमा महेश सर र सुरज सर आइपुग्नुभयो। उहाँहरूको अनुहार र शरिर भेरीमा डुबुल्की हानेर आएजस्तो पसिनाले निथ्रुक्कै भिजेको थियो। चौतारीमा झोला बिसाउन नपाउँदै तीन भाई फेरि उकालो, ओरालो र तेर्सा बाटोको प्रसङ्गमा तर्क/वितर्क गर्न सुरु गरे।
साथिहरूले पाइथागोरस साध्यसम्मको कुरा गर्न भ्याए। तर कोही हार मान्ने अवस्थामा छैनन्। म एक छेउमा बाजको छायाँमा बसेर सबैको तर्क सुन्ने एक्लो श्रोता छु। तर दिउँसो भएर होला बिहान जस्तो धेरै छलफल गर्दैन उनीहरू। अन्तिममा आफै शान्त भए तथापि अडान आफ्नै छ।

जस्तोसुकै तर्क राखेपनि फेरि संगै हिड्नु छ, गन्तव्य एउटै हो। यात्रा पुरा नभएसम्म हामी एक अर्का सबैभन्दा नजिकका हौं। त्यसैले हामी एक अर्काको धेरैभन्दा धेरै ख्याल गर्दैछौं। त्यस चौतारीबाट २० मिनेट हिँडेपछि अर्को नयाँ फलैंचासहितको नयाँ चौतारीमा आराम गर्ने ठाउँ बनाएको छ। सँगै पानीको धारा पनि छ, यही खाजा खाने उपयुक्त ठाउँ हो।

हामीसँग भएको रोटी र अचार खान्छौं। गाँजाको दाना मिसाएर बनाउने अचार हामी सबैको रोजाई बनेको छ रुकुम आएदेखी। त्यहाँ चिसो रोटी यति मिठो हुन्छ कुनै वर्णन गर्ने शव्द छैन। चिसो रोटी कुनै विकल्प पनि छैन। एक लाखमा एक प्लेट म:म किन्छु भन्दा पनि त्यो सम्भव छैन। नगद रुपैयाँ र रुखको झरेको पात बराबर जस्तै हुन्छ ।

खाजा खाएर उकालो हिँड्यौं। उकालो सकिन धेरै छैन तर खुट्टा चल्दैन। साथीहरू मध्याह्नको घामले छाडा बोल्न पनि सकेनन्। हिँडाई निरन्तर छ तर गति ज्यादै सुस्त छ। म आफैं हिड्न सकेको छैन। मेरो परिस्थिति पनि उही छ। नाक मुखबाट स्वास लिँदै फाल्दा पनि गाह्रो हुँदैछ। यत्तिकैमा साथीहरूमा जोस आओस् भनेर- पारीको डाँडामा पुगेपछि सुन्तला दिन्छु, भन्छु। साथीहरूको कान ठाडो हुन्छ र हिडाईमा थोरै गति बढ्छ। उकालो सकिने ठाउँ पुग्दा सोचेभन्दा ठूलो खर्क रहेछ, खुसीले एक्छिन सुत्छौं फोटो खिच्छौं। घामको रापले निन्द्रा लाग्छ तर निदाउने छुट छैन। दुई वटा सुन्तला दिन्छु साथीहरू खुसी हुन्छन्।

साथीहरूको अनुहारमा खुशी देख्दा म पनि खुसी हुन्छु । मलाई पनि सुन्तला खान अनुरोध गर्छन् तर म खादिनँ। डाक्टरले नखानु भनेकाले मैले खान मिल्दैन। त्यस्तो तेस्तो ठाउँमा सुन्तला खान मलाई पनि मन त छ तर बोक्रा अलिकति टोकेर मन बुझाउँछु। मेरो चिन्ता र उपचार गर्नुहुने डा. रामेश कोइराला, डा. हेमन्त श्रेष्ठ र डा. सोभित थापाप्रति म बफादार छु। उहाँहरूको बोलीलाई सम्मान र इज्जतका साथ अनुसरण गर्छु।

मध्याह्नको १२ बजिसकेको छ। यतिबेला पेल्मा पुगेर खाना खाने भनेर हिडेको तर हामीले आधा बाटो मात्र पार गरेका रहेछौं। पेल्माबाट मैकोटतिर जाँदै गरेको एकजना स्थानीयलाई सोध्दा थाहा भयो त्यहाँबाट हामीले यात्रा अवधिभर कटेर जानुपर्ने अग्ला-अग्ला ढोरपाटन शिकार आरक्षतिरको डाडाहरू देखिन्छन्। त्यहाँको हावा प्रदुषणरहित छ। खोलामा सफा हिमनदी बग्दैछ। वातावरण शान्त छ, स्थानीय मानिसले लगाएका लुगा फाटेको छ। थुप्रै पसिनाको धारा सुकेको छ। उनीहरूको अनुहार हेर्दा मन सफा देखिन्छ। भीरको बाटो हिँड्दै अगाडि जान्छौं।

लगभग एकघण्टा हिँडेपछि यामखार गाउँमा पुग्छौं। त्यहाँदेखि पारी पेल्मा गाउँ देखिन्छ। निकै बाक्लो बस्ति छ। परम्परागत घर भन्दा हरियो जस्ताको छानाहरू देखिन्छन् । यामखारमा ५० घरपरिवार बस्दा रहेछन्। त्यहाँपनि पुन मगरहरूको बाहुल्यता छ। यामखारको ओरालो झर्दै गर्दा थुप्रै गिद्धहरू देख्छौं। त्यस्तो दृश्य मैले करिब २५ बर्षपछि देख्ने अवसर मिल्यो। सायद ५४ सालतिर मैले थुप्रै गिद्ध देखेको थिए। खोला तरेपछि कहालीलाग्दो उकालो सुरु हुन्छ, साथीहरूमा जागर छैन लल्याकलुलुक रायोको साग ओइलिए जसरी भित्तातिर निहुरिएर बसेका छन।

साथीहरू बिस्तारै आउदै गर्छन् भनेर म एक्लै हिड्ने निर्णय गर्दै उकालो हिडाई सुरु गरें। बल्लतल्ल पेल्मा गाउँमा पुगेर होटल सोधपुछ गरें अलिक माथितिर रहेछ। तर दोकान चाहीँ नजिकमा धेरै रहेछ। थुप्रै नयाँ घरहरू बन्दै रहेछन्। घरहरू बाक्लो छ। बारीमा मकै राम्रो फल्दो रहेछ। बारीमा मकैको जरा हेर्दा सप्रेको देखिन्छ, बिच गाउँमा एक होटल भेटियो । मैले कति पनि ढिला नगरी ‘खाना पकाई दिनुहुन्छ?’ भनेर सोधें। दिदीले ‘हुन्छ’ भन्नुभयो। हामीले अहिलेसम्म खाना खाएको छैनौं भनें। दिदीले मेरो अनुहार हेरेर बुझिसक्नु भएछ। हतारमा खाना पकाउन लाग्नुभयो।

दिउँसोको साढे तीन बजिसकेको थियो। तरकारी के पकाई दिनु हुन्छ दिदी भनेर सोधें। उहाँले ठुलो खसीको सुकुटी छ भन्नुभयो। खुसी हुँदै मैले हुन्छ भने एक जनाले खाँदैन भनि नसक्दै दिदीले दाल पकाई दिन्छु भन्नुभयो। दिदी आफ्नो कामतिर हतार-हतार लाग्नु भयो मैले साथीहरूलाई फोन गरेर खाना भनेको छु बिस्तारै आउनु भनेर होटलको लोकेशन दिएँ। होटलको दिदी धेरै पहिले भक्तपुरमा बस्नु भएको रहेछ त्यसैले सबैसँग राम्रो बोल्ने अनि पाहुनालाई गर्ने सम्मान गर्न जानेको।

मैले चुलामा आगो बाल्न सहयोग गरें। यतिकैमा साथीहरू पनि आइपुगे। हामीले तातो पानी खायौं। खाना पाक्दासम्म यामखार भीरको बिचमा बनेको झोलुंगे पुल धेरै हेर्न लायक, आकर्ष प्रख्यात हुँदैछ। त्यो पुलमा गएर फोटो, भिडियो खिच्यौं। पुलले गर्दा तीन घण्टा लाग्ने बाटो २० मिनेटमा छोटिएको छ।

पुल पार गरेर १५ मिनेटमा प्राकृतिक तातोपानीमा पुगिन्छ। आज भोलि धार्मिक रुपमा धेरै मानिसहरू रोग निको हुने विश्वासका साथ नुहाउँन आउने गरेका रहेछन् तर हामी त्यहाँ जाने स्थितिमा थिएनौं।

भोको पेटमा पुलमा खुलेर रमाउनु सकिएन, मेरो ध्यान होटलमा पाक्दै गरेको खानातिर थियो। छिटो-छिटो होटलमा आयौं तर खाना पकेको रहेनछ। खाना पाकुन्जेल पर्खिन गाह्रो भयो। हाम्रो छट्पटी देखेर दिदीले भुटेको मकै दिनुभयो। तातो खाना अगाडि आउना साथ गोहीले जस्तो नचपाइ निल्यौं। पेट अघाउँदै गएपछि बिस्तारै खायौं। खाना खाईसक्दा बेलुकीको पाँच बजिसकेको थियो।

हामी अगाडि बढ्ने निर्णय गर्यौं। तर होटलको दिदीले नजानु भन्दै हुनुहुन्थ्यो। दिदीको अनुरोधलाई बेवास्ता गरी हाम्रो आजको गन्तव्यसम्म पुग्ने कठोर अठोटका साथ हिड्ने तयारी गर्यौ। त्यहाँबाट निस्केपछि लगातार चार घण्टासम्म हिँड्नु पर्ने हुन्छ। बाटोमा कुनै घर होटल र गोठहरू केही छैन अरे भीर र जङ्गलको बाटो भएर घस्दुङ नपुगिन्जेल कतै बस्ने ठाउँ छैन। बेलुकाको पाँच बजेर १२ मिनेटमा उकालो हिड्न सुरु गर्छौं। रात परेको बेला हिँडेको देखेर गाउँका मान्छेहरूले अनौठो मानेर हेर्दै थिए। कोही उनिहरू बिस्तारै हाम्रो बारेमा आपसमा कुरा गर्दै थिए। दुई जना स्थानीयले नजानु यतै बस्नु भनेर अनुरोध गर्दै हुनुहुन्थ्यो तर हामीले उहाँहरूलाई हामी सकुशल पुग्छौं भनेर आश्वासन दिलायौं।

पहेंली घाम पारीको डाडामाथी बिस्तारै सर्दैछ। जङ्गल गएका गाईगोरु, भेडाका बथान र घोडाहरू घर फर्किँदै छन्। साथमा घाँस दाउरा लिनु गएका स्थानियहरू घर फर्किँदैछन तर हामी उल्टो जङ्गल र भीरको बाटो लाग्दैछौँ । हामी उकालो सुस्त-सुस्त गर्दै चढ्दैछौं। बाटो छेउको बारीमा ध्यानमा बसेको भिक्षु जस्तो अथवा वियोगान्त प्रेमको प्रेमी जस्तो पातबिनाको आरु, ओखर र स्याउका रुखहरू टिठ लाग्दो गरी उभिएको छ। एक बोतल पानी बोक्ने जागर छैन।

माथि गाउँको अन्तिम घरमा पानी भर्ने भनेर यतिकै हिँडेका थियौं। अन्तिम घरमा डर लाग्दो भोटे कुकुर रहेछ घरमा मान्छे कोही छैन। गाउँमा स्थानीयले पानी ट्याङ्की पुगेपछि तेर्सो जानु भनेका थिए, त्यहाँ पानी छ होला सोचेर गयौं तर त्यो ट्याङ्की नयाँ बनाएको रहेछ। अब प्यासले तड्पिनुको विकल्प थिएन।

आकाशमा थुप्रै ताराहरू देखिन्थे। धर्तीमा अध्यारो हुँदैछ। ६ बजेर १२ मिनेट समय बितिसकेको थियो। बिस्तारै जाडो बढ्दैछ। हामीले कम्तिमा ३ देखि ४ घण्टासम्म हिड्नु पर्नेछ। जुन आए हामीलाई साहारा हुन्छ भनेर बारबार आकाशतिर हेर्छौं आउने सुरसार छैन। उसको आउने आफ्नै समय छ तर हामीलाई छिटो आइदिए हुन्थ्यो जस्तो लाग्छ।

भिरको बीचमा बाटो छ। तल खोला, माथीबाट सुख्खा पहिरो झर्ने। ओहो! यस्तो दुःख हुँदापनि कुनै निराशा छैन। जाँदाजाँदै कुनै न कुनै ठाउँमा पक्कै पनि पुगिन्छ। हामी एक अर्कालाई असाध्यै हेरचाह गर्छौं। ख्याल गर्दै हिड्दैछौं। हामी घरमा पुगेपछि आफ्नो -आफ्नो प्रिय मान्छेहरू होलान् तर, त्यति बेलाको लागि हामी एक अर्काका प्रिय नजिकका भएका छौं। त्यसैले होला सुरज सर लाई खै कस्को फोन आएको थियो? उहाँले अहिले बाटोमा छु पछि कल गर्छु भनेर फोन राख्नुभयो। हामीसँग जे कुरा हुदैन त्यसैको धेरै तिर्सना लाग्ने। सबैभन्दा धेरै महेश पाण्डे सरले पानीको कुरा गर्नुभयो। मसँग भएको सुन्तला झिकेर फेरि दुई दुइटा दिएँ। तर पानीको प्यास सुन्तलाले मेटेन झन धेरै प्यास लाग्यो।

रातको ८ :४० बजे एउटा खोल्सा भेटियो। हामी खुसी भयौं साथीहरूलाई निकै गाह्रो भएको हुँदा मैले पानी थापेर खुवाएपछि कति पनि ढिला नगरी हिड्न सुरु गर्‍यौं। अघि पेल्माको होटलको दिदीको फोन नम्बर लिएको थियौं। हामी पानी भएको ठाउँ पुग्यो अब कति लाग्छ भनेर सोध्यौं। दिदीले नजिकै छ भन्नुभयो। हामीलाई अझ खुसी जोसका साग हिड्न थाल्यौं।

बाटामा गाईगोरु र भेडाको पाईलाहरू देखिन थाल्यो। एकैछिनमा भेडीचोकको दुईवटा भोटे कुकुर कराउँदै गरेको सुनियो। घस्दुङ होटलका मान्छेहरू सुतिसक्नुभएको रहेछ। कुकुर र हामीले बोलाएपछि उहाँहरू उठ्नुभयो। हामीले बास बस्ने अनुमति माग्यौं उहाँहरूले स्वीकार्दै हामीलाई खानाभन्दा पनि आरामको जरुरत थियो त्यसैले खाजा बनाई मागेर खायौं। त्यहीँ भेडीचोकको दाई दाउरा खोज्न ठाकुर जानुभएको रहेछ। उहाँलाई फोन गर्न लगाएर भोलि बिहान ९ बजे खाना पकाई राख्नु भन्यौं। आगोमा बस्दा-बस्दै निन्द्राले छोप्दै थियो ओछ्यानमा जानुसाथ गहिरो निन्द्रामा डुबेछु।

क्रमश...

.

प्रकाशित मिति: : 2025-02-08 20:52:00

प्रतिकृया दिनुहोस्