ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि मुद्दा चलाउन माग गरिएको रिटमाथि सुनुवाइ सकिएको छ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता न्यौपानेले सो निर्णय बदरको माग गर्दै २०७६ माघ २९ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सो रिटमाथि आज सुनुवाइ सकिएकाले आजै फैसला आउने संभावना छ। उनीहरू ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबी रिटमा गरिएको छ। र उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरिएको छ।
अख्तियारले भने नीतिगत निर्णय भन्दै उनीहरूलाई उन्मुक्ति दिएको थियो।