‘लू’बाट जाेगिन के गर्ने?

Breaknlinks
Breaknlinks

गर्मीयाम सुरु भएसँगै तराई-मधेस जिल्लाहरुमा तातो हावा (लू) लाग्ने गर्छ। लूका कारण मानिसकाे मृत्यु हुने गरेकाे पनि छ। तर, सामान्य अवस्थामा सही सुरक्षा विधि अपनाइयाे भने यसबाट बच्न सकिन्छ।

विशेषगरी गर्मीयाममा बालबालिका तथा वृद्ध-वृद्धाहरुकाे शरीरबाट अत्यधिक पसिना बग्ने गर्छ। जसकाे कारण शरीरमा नुन र पानीकाे कमी हुने गर्छ। शरीरमा पानीकाे मात्रा कमी हुनु नै लू हाे। यस्ताे बेला अत्यधिक वान्ता हुने, भाेक नलाग्ने, बारम्बार प्यास लाग्ने र शरीरका मांसपेशी तथा हड्डी दुख्ने गर्छ।

शरीरको तापक्रम १०१ देखि १०४ डिग्री सेल्सियससम्म हुने, हातको हत्केला र खुट्टाको पैताला पोल्ने, अचानक बेहोस भएसँगै केही मानिसको मृत्यु पनि हुन्छ।

त्यस्तै ताताे हावा भएकाेले प्यास लाग्ने, मुख सुक्ने, बाेल्दा स्वर सुक्ने, स्वास फेर्न गाह्राे हुने, छिटाे-छिटाे पिसाब लाग्ने हुँदै मानिस बेहाेस अवस्थामा पुग्छ। यद्यपि, लू’काे लक्षण समय र तापक्रममा भर पर्छ।

यदि मानिस यसरी बेहाेस भएमा तुरुन्त अस्पताल लैजानु पर्छ। शरीरमा धेरै ज्वराे छ भने आइस वा पानीमा कपडा भिझाएर निधार, काखीलगायत शरीरका भागहरुमा राख्नु पर्छ। मानिसलाई सितल छाहारी वा रुखमा फेदमा राख्नु पर्छ। र, फलफूल तथा झाेलिलाे पदार्थहरु खुवाउनु पर्छ।

तर, सुरुमा त लु हुनबाटै जाेगिन जरुरी छ। त्यसका लागि अत्यधिक गर्मी हुँदा घरबाहिर ननिस्कने, निस्कनै परे पातलाे कपडाले टाउकाे छाेप्ने वा छाती ढाक्ने गर्नुपर्छ। त्यस्तै फलफूलकाे रस वा पानी पिउने, बढी पसिना आएमा जीवनजल पिउने, चिसाे पानीले नुहाउने, सकभर खेत-बारीकाे काम बिहान साँझ गर्ने, बढी चिनी भएकाे पदार्थ नपिउने (चिया, कपी, साेडालगायत पेयपदार्थ) तथा कडा खालकाे कसरत नगर्ने।

(जनरल फिजिसियन डा. नरायणबहादुर बस्नेतसँगकाे कुराकानीमा आधारित)

प्रकाशित मिति: : 2024-04-26 17:26:00

प्रतिकृया दिनुहोस्