प्रधानमन्त्रीले विश्वासकाे मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासमाे मत लिएपछि मात्रै सरकार विस्तार हुने भएकाे छ। प्रधानमन्त्रीले उपराष्ट्रपति निर्वाचन लगत्तै विश्वासकाे मत लिने र त्यसपछि मात्रै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी भएकाे हाे।

उपराष्ट्रपतिकाे निर्वाचन पार्सी (शुक्रबार) हुँदैछ। उपराष्ट्रपतिकाे निर्वाचन सकिएकाे दुई दिनपछि चैत ५ गते संसदकाे बैठक बस्दैछ। त्यसदिनकाे बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ। त्यस लगत्तै बस्ने बैठकमा प्रधानमन्त्री विश्वासकाे मत दिने तयारी थालिएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए। राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर्थात् चैत १३ सम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।

सरकारमा सहभागी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रसा सरकारबाट बाहिरिएपछि १७ मन्त्रालयकाे जिम्मेवारी प्रचण्डले सम्हालेका छन्।

यसअघि प्रतिपक्षमा रहेकाे नेपाली काँग्रेस भने एउटा मन्त्रालय लिएर भए पनि तत्काल सरकारमा सहभागी हुन चाहन्छ। प्रधानमन्त्रीले विश्वासकाे मत प्राप्त गरे लगत्तै एमालेले छाडेका ८ मन्त्रालय काँग्रेललाई दिने गठबन्धनकाे तयारी छ।

प्रकाशित मिति: : 2023-03-15 07:04:00

प्रतिकृया दिनुहोस्