राष्ट्रिय राजनीतिको नेतृत्व महिलाले लिने गरी अगाडि बढनुपर्छ: दिनेश राई

नेकपा (एकीकृत समाजवादी)का पोलिटव्यूरो सदस्य दिनेश राईले राष्ट्रिय राजनीतिको नेतृत्व महिलाले लिने गरी अगाडि बढनुपर्ने बताएका छन्।

बाराको कोल्हवीमा आइतबार एकीकृत समाजवादी निकटको अखिल नेपाल महिला संघ समाजवादी (अनेमसंघ समाजवादी) को नगर स्तरीय महिला भेलालाई सम्बोधन गर्दै पोलिटव्यूरो सदस्य राईले यस्तो बताए।

‘हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अनिवार्य नै हुनुपर्ने संवैधानिक व्यवस्था छ। तर महिलाहरु अहिले हरेक क्षेत्रमा कम्तिमा पनि ५० प्रतिशत हुनु नै पर्छ’, राईले भने, ‘तपाईंहरु अब राष्ट्रिय राजनीतिको नेतृत्व पनि गर्ने गरी राजनीतिमा सक्रिय हुन आवश्यक छ।’

राजनीतिमा सक्रिय भएर विभिन्न पदको नेतृत्व गरिरहेका महिला नेताहरु पुरुष नेताहरुभन्दा बढी जिम्मेवार, इमन्दार, स्वच्छ देखिएको अनुभव उनले सुनाए। त्यसैले महिलाहरु मुलुकको मुल नेतृत्वमा आएमा राष्ट्रको समृद्धि अवश्य हुनेमा विश्वास व्यक्त गरे।

अनेमसंघ समाजवादीको कोल्हवी नगर भेलाबाट टिका मैनालीको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन भएको छ। कमिटीको उपाध्यक्षमा मनोरमा चौधरी, सचिवमा विनिता चौधरी, सदस्यहरुमा परणिया चौधरी, सुष्मा ठोकर ग्यापक, रिता खडका, गिता मैनाली, सुमित्रा चौधरी लगायतका रहेका छन्।

भेलामा एकीकृत समाजवादीका केन्द्रीय सदस्य विभा कार्की, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको विशेष सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2023-03-12 17:51:00

प्रतिकृया दिनुहोस्