उर्लाबारीमा तातिँदै स्ववियु निर्वाचन: अनेरास्ववियुमा ६ आकाङ्क्षी, नेविसंघबाट कार्की

BreaknLinks
BreaknLinks

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संगठनहरुले तीव्र तयारी थालेका छन्। करिब ६ वर्षपछि मोरङको उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ।

स्ववियु चुनावलाई राजनीतिक दलको नेतृत्व विकासको जगसमेत मानिन्छ। क्याम्पसमा १९ फाल्गुनदेखि स्ववियु निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ। विद्यार्थी संगठनहरुले क्याम्पसमा ५ वटा दल दर्ता गरिसकेका छन्।

निर्वाचन प्रक्रिया सुरु भएसँगै विद्यार्थी संगठन र नेताहरुले क्याम्पसको नेतृत्व हात पार्न रस्साकस्सी सुरु गरेका छन्।

विद्यार्थी संगठनहरु निर्वाचनको तयारीमा लागिसकेका छन्। विगतका निर्वाचन हेर्ने हो भने उर्लाबारी क्याम्पस अनेरास्ववियुको पडक मानिन्छ।

सबैभन्दा बढी विद्यार्थी आवद्ध रहेका र राजनीतिक गतिविधिका आधारमा ठूलो उर्लाबारीमा अनेरास्ववियु ठूलो दल मानिन्छ।

अनेरास्ववियुबाट स्ववियु सभापतिका लागि हालसम्म ६ विद्यार्थी नेताले आकाङ्क्षा देखाएका छन्। अनेरास्ववियु उर्लाबारी क्याम्पस कमिटीका अध्यक्ष गौतमबुद्ध तामाङ, उपाध्यक्षद्वय रिकेश दाहाल र नितेश तिम्सिना, जिल्ला कमिटी सदस्य प्रीती दाहाल, उर्लाबारी नगर अध्यक्ष तथा जिल्ला सदस्य भुवन मग्रांती र रमेश बरालले आफ्नो दाबेदार प्रस्तुत गरेका छन्।

दाबेदार प्रस्तुत गरेपनि टिकट नपाएको खण्डमा एकले अर्कालाई सहयोग गरेर जाने उनीहरूले बताएका छन्। स्ववियु निर्वाचनका लागि आफ्नो संगठन पूर्णरुपले तयार रहेको अनेरास्ववियुका क्याम्पस अध्यक्ष तामाङले बताए। उनले निर्वाचनको तयारीमा लागेको पनि जानकारी दिए। क्याम्पस अध्यक्ष भएकाले आफ्नो दाबी स्वभाविक हुने उनको भनाइ छ।

यस्तै शालिन र इमानदार नेताको छवि बनाएका रिकेश दाहाल विद्यार्थीको हक हितको काम गरेर स्थापित भएका नेता मानिन्छन्। लामो समयदेखि अनेरास्ववियुमा आवद्ध रहेका दाहाल विद्यार्थीमाझ लोकप्रिय छन्।

आफू लामो समयदेखि नै क्याम्पसको हरेक गतिविधि र विद्यार्थीको समस्या उठाउँदै आएकाले आफ्नो दाबी स्वभाविक भएको दाहाल बताउँछन्। उनी भन्छन्, 'अनवरत रूपमा लामो समयदेखि योगदान गरिरहेको छु। त्यसैले मेरो उम्मेदवारमा दाबी स्वाभाविक रूपमा रहन्छ।’ शैक्षिक उन्नयनका लागि आम विद्यार्थीको माझ रहेर काम गरिरहेको उनको दाबी छ।

क्याम्पसलाई सक्षम, सबल, आत्मनिर्भर र विश्व समुदायमा अब्बल दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रूपमा स्थापित गर्नका लागि आफ्नो उम्मेदवारी रहने दाहालको भनाइ छ।

विद्यार्थीमाझ परिचित र लोकप्रिय मानिएका अर्का नितेश तिम्सिनालाई बलियो दाबेदारका रुपमा हेरिएको छ। उनी आफू विद्यार्थीमाझ रहेर उनीहरुको समस्या हल गर्न लागिरहेको बताउँछन्।

क्याम्पसका हरेक गतिविधिमा संलग्न हुँदै आएका मग्रांती पनि क्याम्पसमा लोकप्रिय छन्। उनी अनेरास्ववियुका जिल्ला कमिटी सदस्य पनि हुन्। बराल पनि पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय छन्।

यस्तै सभापतिकि आकाङ्क्षी प्रीति दाहाल समानताको मुद्दालाई यथार्थ बनाउने लक्ष्यलाई आत्मसात गर्दै सभापतिमा आफ्नो दाबी रहेको बताउँछिन्। शिक्षामा रहेका अनेक समस्याहरूको समाधनमा निरन्तर आवज बुलन्द गरेर हालसम्म भएका शैक्षिक विकास, शैक्षिक सुधारको आधार देशभरका शैक्षिक संस्थालाई बनाउनुपर्छ भन्ने विचारका साथ आफू अघि बढीको उनको तर्क छ।

नेपाल विद्यार्थी संघले भने विवेक कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। उनी पनि विद्यार्थीमाझमा परिचित नेता हुन्। स्ववियु निर्वाचनका लागि पाँच विद्यार्थी संगठनले क्याम्पसमा संगठन दर्ता गराए पनि अनेरास्ववियु र नेविसंघ नै मुख्य प्रतिस्पर्धी रहेको विद्यार्थीहरूको बुझाइ छ।

प्रकाशित मिति: : 2023-03-06 12:34:00

प्रतिकृया दिनुहोस्