सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।

प्रदेशसभा भवन धनगढीमा बसेको प्रदेशसभाको आइतबारको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा दुई तिहाइभन्दा बढी ४१ प्रदेशसभा सदस्यले मत दिएका थिए। प्रस्तावको विपक्षमा ११ मत परेकाे थियो।

बैठकको प्रारम्भमा सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

मुख्यमन्त्रीको प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सदस्यहरू नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी, नेकपा (एमाले) का चक्रबहादुर मल्ल, नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा तारा जोशीले भाग लिएका थिए।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा (एकीकृत समाजवादी) का चार सदस्यले मत दिएका थिए। प्रदेशसभाको विपक्षी बेञ्चमा बसेका स्वतन्त्र सदस्य डा जोशीले पनि मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए। विपक्षमा नेकपा (एमाले) का १० र राप्रपाका एक सदस्यले मत दिएका थिए।

प्रकाशित मिति: : 2023-03-05 16:33:00

प्रतिकृया दिनुहोस्