दुई घण्टाका लागि प्रदेशसभा बैठक स्थगित, संशोधन दर्ताका लागि समय निर्धारण

अघिल्लो कार्यकालमा प्रदेशको नाम राख्न नसकेर चौतर्फी आलोचना खेपेको प्रदेश १ ले आज नाम पाउने भएको छ।

नामकरणका लागि आज दिउँसोदेखि जारी रहेको प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको हो।

नेकपा एमालेका तर्फबाट रामबहादुर रानाले प्रस्ताव गरेको नाम कोसी प्रदेश बहुमतले पारित भएसँगै उक्त नाममाथि छलफल भइरहेको थियो।

प्रदेशको नाम कोसी राख्ने प्रस्तावमा संशोधन दर्ताका निम्ति समय निर्धारण गरेर सभामुखले २ घण्टाका लागि बैठक स्थगित गरेका हुन्।

संशोधन दर्ताका लागि सभामुख बाबुराम गौतमले साढे ८ बजेसम्मका लागि समय दिएका छन्। 

एमालेले प्रस्ताव गरेको कोसी प्रदेशका लागि नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाको समर्थन रहेको छ। नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने पहचिानका आधारमा नामकरण हुनुपर्ने बताउँदै आएको छ।

यसअघि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश स्वतः अस्वीकृत भएको थियो। उक्त नामको समर्थनमा नेकपा एसका कमलप्रसाद जगेबु र जसपाकी निर्मला लिम्बू रहेका थिए।

प्रकाशित मिति: : 2023-03-01 19:24:00

प्रतिकृया दिनुहोस्