केपी ओलीको भण्डाफोर गर्छु : दुर्गा प्रसाईं

File Photo
File Photo

सामाजिक सञ्जालका चर्चित पात्र अर्थात् केपी शर्मा ओलीका ‘नाति’ दुर्गा प्रसाईं अब ‘एमाले’ रहेनन्।

राजतन्त्र फर्काउने महाअभियानका ‘पछिल्ला–नायक’ उनी कट्टर राजावादी र हिन्दूवादी भइसके। अध्यक्ष ओलीले पार्टीबाट निकाल्नु नै परेन उनी आफै त्यहाँबाट निस्के।

केन्द्रीय सदस्य प्रसाईंकाे एकसमय यस्तो थियो, उनी चौबिसै घण्टा ओलीनिवास बालकोटमा हुन्थे। अध्यक्ष ओलीलाई भेट्न त्यहाँ पुगेका नेता–कार्यकर्तासँग स–विस्तार ‘बात’ मार्थे। ओलीलाई ‘हजुरबा’ भन्दै हिँड्थे। माओवादी अध्यक्ष ‘प्रचण्ड’लाई सत्तोसराप गर्थे।

तर समय फेरियो। फेरिए प्रसाईं। ओलीका प्रिय ‘नाति’लाई एमाले भन्ने पार्टी, पार्टीजस्तो लाग्न छाड्यो।

‘एमाले र माओवादी उस्तै–उस्तै हुन्। देश बनाउने सोच नभएका पार्टीको के काम? म काम गरेर देखाउने व्यक्ति हुँ,’ उनी भन्छन्।

आजभोलि प्रसाईंको बोली बदलिएको छ। पाँच वर्षअघि उनी संसार नै प्रचण्ड ठान्थे। त्यसपछि ओलीमय माहोल बनाउने अभियानमा लागे। तर अहिले राजा फर्काउने महाअभियानमा छन्।

प्रसाईंको तर्क छ– नेपाली नेताहरूले उनको भिजन नै बुझेनन्। बुझ्न सकेनन्। यी नेताहरूबाट देशको प्रगति हुँदैन। त्यसैले उनले अर्को बाटो रोजे रे। बेलामौकामा बोलिछाड्ने उनी एमाले र ओलीबारे मौन छन्।

तर एमाले अध्यक्ष ओलीले आफूलाई कटाक्ष गरेको भिडियो कतिकतै भेटेपछि पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्ने चेतावनी दिएका छन्।

‘हजुरबा, हजुरबाकै ठाउँमा बसेको राम्रो। उहाँ त्यति नराम्रो व्यक्ति चाहीँ होइन है। तर उहाँको छेउछेउमा बस्ने नेताहरू गतिला भएनन्, अनि कसरी चल्छ पार्टी,’ बिएल नेपाली सेवासँग भने, ‘मलाई जिस्क्याउने काम कसैले नगरोस् त्यसो भो भने पत्रकार सम्मेलन गरेर भण्डाफोर गर्छु, के भन्ने याे मेराे चेतावनी हाे।’

प्रकाशित मिति: : 2023-02-20 09:30:00

प्रतिकृया दिनुहोस्