राष्ट्रियसभाको उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी अर्याललाई सोमबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

अर्यालले राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार उम्मेदवारी दर्ता गराएकी थिइन्। सत्तारुढ गठबन्धनले अर्याललाई उठाउँदा कांग्रेसले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको थियो। अर्यालको प्रतिस्पर्धीको रुपमा कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।

अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ छन् भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा छन्।

माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेकी छन्। विसं २०१३ असोज २० गते बलराम अर्याल र जगतमायाको सुपुत्रीका रुपमा पर्सामा जन्मिएकी हुन्।

तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेश प्रदेशबाट निर्वाचित भएकी हुन्।

समाजशास्त्रमा स्तातकोत्तर गरेकी अर्याल विद्यावारीधीको शोधार्थी हुन्। अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको समेत जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतको रुपमा पनि सेवा गरेकी छन्।

प्रकाशित मिति: : 2023-02-06 12:41:00

प्रतिकृया दिनुहोस्