कञ्चनपुरको भीमदत्त नगरपालिकाले लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिलालाई चुरापोते र खेलौना बनाउने तालिम सञ्चालन गरेको छ।
पालिकाको वडा १६ र १३ का महिलाका लागि संयुक्त रुपमा १५ दिने तालिमको आयोजना गरिएको भीमदत्त नगरपालिका उपप्रमुख निलम जोशी लेखकले बताए।
महिलालाई आत्मनिर्भर बनाउनका लागि तालिम सञ्चालन गरिएको उनको भनाइ छ। 'यहाँका महिलालाई आय आर्जनसँग जोड्नका लागि तालिम सञ्चालन गरिएको हो', उनले भने, 'तालिमबाट सिकेको सीप व्यवहारमा उतार्न सके महिला आत्मनिर्भर बन्ने विश्वास लिएको छु।'
उनले घरमै बसेर पनि गर्न सकिने काम भएकाले तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरे।
तालिममा वडा १६ र १३ का गरी २८ महिला सहभागी रहेको वडा–१६ का वडाध्यक्ष केशवसिंह विष्टले बताए। '१५ दिने तालिममा महिलालाई आत्मनिर्भर र सक्षम बनाउन चुरापोते र खेलौनाको तालिम दिइनेछ', उनले भने, 'सीप सिकेर महिला आर्थिक रुपमा सबल होउन भन्ने हाम्रो उद्देश्य हो।'
थोरै लगानीमा राम्रो आम्दानी कमाउनका लागि चुरापोते तालिमले महिलाको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ।
भीमदत्त नगरपालिका महिला तथा बालविकास शाखा प्रमुख कुन्ती लेखकले नगरपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत महिलालाई आर्थिक रुपमा सबल बनाउन तालिमको आयोजना गरेको बताए।
'चुरापोते न्यून लगानीमा बनाउन र गाउँघरमै बिक्री वितरण गर्न सजिलो हुन्छ', उनले भने, 'पछिल्लो समय यसको माग पनि बढेको छ।'