शेखर कोइरालाको दाबी: कांग्रेस जुनसुकै बेला सत्तामा आउन सक्छ

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कांग्रेस जुनसुकै बेला सत्तामा आउन सक्ने बताएका छन्।

शनिबार विराटनगरमा नेपाल प्रेस युनियन प्रदेश-१ को पहिलो अधिवेशन उद्घाटन गर्दै काइरालाले संसदको ठूलो दलको हैसियतले कांग्रेस जतिबेला पनि कुनै सत्तामा आउन सक्ने बताए।

संसदमा ठूलो दल भए पनि कांग्रेसले सत्ता गुमाउनु दुखद भएको उनको भनाई छ। उनले अगाडि भने, 'कांग्रेस ठूलो पार्टी बनेर पनि सरकार बनाउने अवसर गुम्यो। यसले सबैको चित्त दुखेको छ।'

सरकार निर्माणको अन्तिम समयमा भएको सत्ता समिकरणले कांग्रेस वृतमा निरासा छाएको बताउँदै उनले अहिले नेपाली कांग्रेसको राजनीति कठिन अवस्थामा रहेको बताए।

सरकारलाई विश्वासको मत दिने विषयमा तटस्थ बस्न आग्रह गर्दा पनि बहुमतको निर्णय मानेर समर्थन गर्न बाध्य भएको कोइरालाले बताए।

यस्तै गृहमन्त्री रवि लामिछानेबारे अदालतले गरेको फैसालाले न्यायपालिका सबल देखिएको उनले बताए। उनले भने, ‘हिजोको घटनाले देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ। न्यायपालिका सबल भएको देखिन्छ।’

फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन नभए अनिष्ट हुने कोइरालाको भनाई छ। अबको राष्ट्रपति नेपाली कांग्रेसबाट हुने उनले बताए। ‘यसअघिको पाँच वर्ष हामीले राष्ट्रपतिको भूमिका हेरिसक्यौँ, बजेन पेश भएन, नागरिकता विधेयक पनि रोकियो,’ उनी भन्छन्, ‘कांग्रेसको राष्ट्रपति हुनुपर्छ।’ संविधानभन्दा राष्ट्रपति माथि नहुने उनले बताए।

यस्तै कोइरालाले प्रदेश सरकारले गरेको मन्त्रालय घटाउने निर्णय स्वागतयोग्य भएको बताए।

प्रकाशित मिति: : 2023-01-28 13:52:00

प्रतिकृया दिनुहोस्