यस्तो बन्यो नयाँ अनुहारले भरिएकाे प्रचण्ड सरकार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारमा सहभागी हुने मन्त्रीहरू नाम टुंगिएकाे छ।

सत्ता साझेदार दलहरुले सरकारमा सहभागी हुने मन्त्रीहरू नाम टुंगो लगाएर प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन्।

सत्ता गठबन्धनकाे भागबण्डामा एमालेकाे भाग ८ मन्त्रालय परेकाे छ। एमालेबाट यसअघि विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीकाे शपथ लिइसकेका छन्। त्यसैगरी एमालेबाटै डा. विमला राई पौडेलले परराष्ट्रमन्त्री, पदम गिरीले स्वास्थ्यमन्त्री, हरि उप्रेतीले रक्षा, ज्वाला कुमारी साहले कृषिमन्त्री पाउने भएका छन्।

दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएका छन् भने राजेन्द्र राई, भगवती चौधरी पनि मन्त्री बन्ने भएका छन्।

त्यस्तै माओवादीले ३ वटा पाएको छ। जसअनुसार यसअघि नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्रीकाे शपथ लिइसकेका छन्।

माओवादीबाटै रेखा शर्माले सञ्चार मन्त्रालय, सुदन किरातीले पर्यटन मन्त्रालय पाउने भएका छन् भने अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी पाउने भएका छन्।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि तीन तीनवटा मन्त्रालय पाएकाे छ। जसमा पार्टी सभापित रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भइसकेका छन्। रास्वपाका शिशिर खनाललाई शिक्षामन्त्री र डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीकाे जिम्मेवारी दिइने भएकाे छ भने डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्रीमा पठाउने भएको छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन मन्त्रालय पाएको छ। राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन्। राप्रपाका विक्रम पाण्डे सहरी विकासमन्त्री र ध्रुव प्रधान कानुनमन्त्री बन्ने भएका छन्। दिपकबहादुर सिंहलाई भने ऊर्जा राज्यमन्त्री बनाउने भएको छ।

जनमतबाट भने अब्दुल खानले यसअघि नै विनाविभागीय मन्त्रीकाे शपथ लिइसकेका छन्।

यसपटककाे मन्त्रीमण्डलले अधिकांश नयाँ अनुहार पाएकाे छ। सरकारमा सहभागी सबैभन्दा ठुलाे दल एमालेले एकजनाबाहेक सबै मन्त्री नयाँ बनाएको छ। विगतमा जस्तै पटकपटक मन्त्री बन्ने सूचीमा यसपटक एमालेमा विष्णु पौडेल मात्र परेका छन्। पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका छन्।

प्रकाशित मिति: : 2023-01-17 11:59:00

प्रतिकृया दिनुहोस्