भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने उपेन्द्रको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशमा पार्टीले समर्थन गर्न नसक्ने बताएका छन्।

मंगलबार बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रियसभा दुवैमा सदनमा भूमिसम्बन्धी अध्यादेशलाई साथ नदिने निर्णय गरेको हो।

जसपा नेपालले अन्य ५ अध्यादेशमा भने समर्थन गर्ने बताएको छ। संसदीय दलको बैठकपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसक्ने बताएका हुन्।

यादवले सो अध्यादेश सरकारले विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्र समेत नतोकी बिक्रि वितरण गर्न र बाँड्न ल्याएको दाबी गरेका हुन्। जसपा नेपालले सो अध्यादेशको विपक्षमा मतदान गर्ने पनि उनले बताए।

यादवले भनेका छन्, ‘सरकारले जारी गरेको अध्यादेशहरू मध्ये “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश” विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्र समेत नतोकी बिक्रि वितरण गर्ने वा बाड्न ल्याइएको देखिन्छ।’

उनले थपेका छन्, ‘उक्त उक्त अध्यादेशले घरजग्गा व्यवसाय, अव्यवस्थित बसोबास, जग्गा विकास गरी घडेरी वा त्यस्तो घरेडीमा घर निर्माण गरी बिक्रि वितरण गर्ने भनि सार्वजनिक जग्गा, नदी, खोला वा नहर किनारको जग्गा, बन, राष्ट्रिय निकुन्ज तथा आरक्षणको जग्गा, गौचर हाट, हाटघाट वा बजारको जग्गा, सडक छेउको जग्गा, वन क्षेत्र वा मध्यवर्ती क्षेत्र जनिएको जग्गा, बुट्यान क्षेत्र जनिएको जग्गाका साथै राष्ट्रिय वन जंगल अतिक्रमण गरी, फडानीगरी अवैध रूपमा बसोवास गर्ने व्यक्तिहरूलाई बाड्ने, लगायतका कार्यहरुबाट वन बिनाश भई पर्यावरण र जैविक विविधता नष्ट हुनुका साथ आन्तरिक बसाई सराई तथा आप्रवाशनमा अत्याधिक वृद्धिका कारण भविष्यमा आन्तरिक द्वन्दको सृजना भई मुलुकलाई नै छिन्नभिन्न पार्ने खेल हुन सक्ने सम्भावना छ।’

प्रकाशित मिति: : 2025-02-11 17:17:00

प्रतिकृया दिनुहोस्