छिमेकी राष्ट्र भारतका केही प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्ररूपमा बढिरहेको सन्दर्भ र नेपालमा पनि केही दिनयता दैनिक नयाँ सङ्क्रमित बढेको तथ्यले नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर आउने निश्चित छ।
तर, यसलाई नियन्त्रण गर्न नेपालको स्वास्थ्य सेवा, क्षमता र मनोबल पहिलेको भन्दा सुदृढ भएको छ।
त्यसलाई कोरोनाविरुद्धको खोपले थप सहयोग पु-याएको छ। सम्भाव्य दोस्रो लहरप्रतिको सतर्कता र तयारीमा पनि स्वास्थ्य मन्त्रालयले पहल लिएको देखिन्छ।
अहिलेको अवश्यकता भनेको हिजो अपनाइएका र अपनाउन छुटेका प्रभावकारी उपायहरूलाई सरकार र आम नागरिकले अविलम्ब अवलम्बन गर्नु हो।
दोस्रो लहरको सामना गर्ने मूल रणनीति पहिलेझैँ ‘ब्रेक द चेन, स्ट्याम्प द फायर’ नै हुनुपर्छ। अर्थात् सङ्क्रमणको शृङ्खलालाई भङ्ग गरी बिस्तारित हुन नदिने र जहाँ सङ्क्रमितहरू फेला परेका छन्, त्यहाँ टेस्ट, ट्रेस र ट्रिटको अभियानलाई तीव्रता दिएर सङ्क्रमितहरूलाई समुदायको सम्पर्कबाट हटाउने हो।