‘मेडिकल माफिया’लाई स्वास्थ्यमन्त्री बनाउँदै रवि लामिछाने !

तस्विरः नवराज वाग्ले, हेल्थआवाज

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विज्ञताका आधारमा ‘जान्नेलाई छान्ने’ मुख्य नीति अपनाएको छ। तर, सोही पार्टीका महामन्त्री मुकुल ढकालले भने ‘रविपथ’को आडमा ‘मेडिकल माफिया’लाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने कसरतमा लागेकाे भन्दै तीव्र आलाेचना भइरहेकाे छ।

सभापति लामिछाने र प्रवक्ता ढकाल ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीकाे विकल्पमा मेडिकल कलेज सञ्चालक डा. चन्दा कार्कीलाई मन्त्री बनाउने दौडधुपमा लागेको गम्भीर आरोप छ। उनी पेशाले चिकित्सकसँगै समानुपातिक सांसद हुन्। डा. कार्की नोबेल मेडिकल कलेजको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतसमेत हुन्। 

 ‘मेडिकल माफिया’लाई स्वास्थ्य मन्त्रालयकाे जिम्मेवारी नदिन पार्टीभित्र आफूहरूले संघर्ष गरिरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले बिएल नेपाली सेवालाई बताएका छन्। स्राेतका अनुसार डा. गोविन्द केसी मेडिकल शिक्षा सुधारको माग गर्दै अनशनमा बस्दा त्यतिखेर नेपाली कांग्रेसनिकट उनी विपक्षमा थिइन्।

२१ वर्षसम्म काठमाडौं मेडिकल कलेजको व्यवस्थापनमा रहेकी उनी अहिले नोबेलसँगै भ्याली हस्पिटलको व्यवस्थापन समूह, नोबेलको पारमेडिक्स र नर्सिङ कलेजको माथिल्लाे जिम्मेवारीमा पनि छिन्। ‘मेडिकल माफियालाई स्वास्थ्यमन्त्री बनाउने काम नगरियाेस्। रवि दाइ र मुकुलजीलाई नेपाली जनताले ठूलो जिम्मेवारी सुम्पिएका छन्। तर, उहाँहरू मेडिकल माफिया अर्थात् गुरुआमालाई छान्ने अभियानमा लाग्नुभएको छ,’ रास्वपाका ती सांसदले भने।

गृहमन्त्री लामिछानेले आफ्नो पार्टीका सांसदहरूलाई विज्ञताका आधारमा मन्त्रालयको जिम्मेवारी दिइने बताएका छन्। तर, उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा कसलाई रोज्लान्– राजनीतिक वृत्तमा चासो छ। रास्वपाले उपसभामुख, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’, ‘संस्कुति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय’, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’, ‘कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय’ दाबी गर्दैआएको छ।

स्रोतका अनुसार रास्वपालाई अब उपसभामुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रीसहित अन्य तीनमन्त्री र एक राज्यमन्त्री दिन प्रधानमन्त्री प्रचण्ड तयार छन्। रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने चर्चासँगै डा. तोसिमा कार्की, डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्की त्यो पदमा आकांक्षी छन्।

प्रकाशित मिति: : 2023-01-04 18:55:00

प्रतिकृया दिनुहोस्