एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ।

एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

'आज स्थायी कमिटी बैठक सकिएको छ। तर उल्लेख्य केही निर्णय भएन। भोलिको बैठकपछि मात्रै केही विषयहरू बाहिर आउलान्', खतिवडाले भने।

अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे पोलिटब्युरो बैठकमा छलफल गरिने उनले बताए। 

“वाम दलहरूलाई एकैठाउँमा उभ्याउनका निम्ति हामीले अग्रसरता लिने भन्ने छ। अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन। सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि भोलि बस्ने पोलिटब्युरो बैठकले नै टुङ्गो लगाउनेछ”, प्रवक्ता खतिवडाले भने।

प्रकाशित मिति: : 2023-01-01 21:22:00

प्रतिकृया दिनुहोस्