मन्त्रीको 'भागबन्डा' खाेज्दै बालुवाटार पुगे गृहमन्त्री रवि लामिछाने

File Photo
File Photo

सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन्।

प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन विभिन्न रानजीतिक दलसँगको छलफललाई तीव्र पारेका छन्। उनले बुधबार एमाले अध्यक्ष ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।

यता, गृहमन्त्री लामिछाने सरकारमा सहभागी भएकाे विषयमा आलाेचना पनि भइरहेकाे छ। उनी बालुवाटारमा जारी बैठकमा सहभागी भएपछि भागबण्डा खाेज्न गएकाे भन्दै सामाजिक सञ्जालमा समेत टिकाटिप्पणीहरू भइरहेका छन्।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’, ‘संस्कुति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय’, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’, ‘कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय’ दाबी गर्दै आएका छन्।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रालय कुन–कुन दलले कहाँ–कहाँ लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ। यसअघि आठ सदस्यीय मन्त्रिपरिषद गठन भइसकेकाे छ। 

नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री बनेका छन्। उनी प्रधानमन्त्री बनेपछि नयाँ सत्ता साझेदार दलको पहिलो बैठक बालुवाटारमा बोलाइएको हो।

प्रकाशित मिति: : 2022-12-29 08:41:00

प्रतिकृया दिनुहोस्