अधुरै रह्यो पर्यटनमन्त्रीको वाचा

File Photo
File Photo

‘मन्त्री हुनुअघि जे सोचेको थिएँ, जुन कामको अपेक्षा गरेको थिएँ त्यो गर्न सकिन’ सोमबार मन्त्रालयबाट बाहिरिँदै गर्दा निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भावुक मुद्रामा भने।

पर्यटनमन्त्रीका रुपमा पर्यटन क्षेत्रको संस्थागत विकासका लागि नीतिगत योजना बनाउने कामले पूर्णता पाएको अनुभूति नभएको जाँदाजाँदै उनले गुनासो गरे।

आज पर्यटन मन्त्रालयमा आयोजित विदाइ कार्यक्रममा उनले ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गर्दा कैयन काम ‘पाइपलाइनमा’ रहेकाले काम अधुरै भएको दाबी गरे।

पर्यटन मन्त्रालयको विवरणमा विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए। विसं २०७९ असार १२ गते जीवनराम श्रेष्ठ पर्यटनमन्त्रीको जिम्मेवारी लिएका थिए।

पर्यटनमन्त्रीको लामो लस्कर र समयावधिमा पनि पर्यटन क्षेत्रको दीर्घकालीन विकास हुननसक्नु विडम्बना भएको उनको गुनासो छ। यद्यपि आफूले छ महिनाको छोटो कार्यकाल पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन रणनीतिक प्रभाव पार्ने काम गर्ने प्रयास गरेको जिकिर गरे।

उनले भने, ‘पर्यटन क्षेत्रको विकास र सम्वद्र्धनका लागि मन्त्रीका रुपमा दीर्घकालीन महत्वका रणनीतिक कार्ययोजना सुरुआत भएका छन्। नयाँ आउने पर्यटनमन्त्रीले त्यसलाई अनुशरण गरेर कार्यान्वयन गरेको खण्डमा पर्यटन क्षेत्रले फड्को मार्नेछ।’

मन्त्री श्रेष्ठले पर्यटन विकासका लागि कतिपय काम परिणाम आउने चरणमा रहेको र केही कार्यान्वयनको प्रक्रियामा रहेको उल्लेख गरे।

उनले नीतिगत र संरचनागत सुधार, पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्पदाको संरक्षण, हवाई पूर्वाधार विकासलगायतमा भएको काममा मन्त्रालय र मातहत निकायको सामूहिक प्रयासले अहिलेको अवस्थामा आइपुगेको बताए।

नेपालले पर्यटन क्षेत्रमा फड्को मार्न सकेमात्र आर्थिक समृद्धिको दिशामा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिन्छ भन्दै निवर्तमान मन्त्री श्रेष्ठले पर्यटन मन्त्रालय मातहतका निकायलाई समसापेक्ष पुनःसंरचना गर्न जरुरी रहेको उनको भनाइ छ।

देशमा पटकपटक राजनीतिक परिवर्तन भए पनि अवस्थामा परिवर्तन नभएकाले संस्थागत र नीतिगत सुधार गरेर समयसापेक्ष बनाउन जरुरी रहेको उल्लेख गरे।

पर्यटन पूर्वाधारसहित समग्र विकासका लागि पर्यटन दशक (सन् २०२३ देखि २०३२) को अवधारणा अघि सार्दै रणनीतिक कार्ययोजनाको रुपरेखासमेत सार्वजनिक गरिएको उनले उल्लेख गरे।

निगम सुधार्न नसकेकामा दुःखेसो

श्रेष्ठले मन्त्रालयकै निकाय भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरण प्रभावकारी हुँदा नेपाल वायुसेवा निगमको अवस्था खराब रहेको भन्दै त्यसलाई सुधान गर्न नसकेकामा आफूलाई दुःख लागेको बताए।

‘मन्त्रीका रुपमा निगम सुधान गर्न नसकेकामा दुःख लागेको छ। सम्बन्धित निकायले मन्त्रीको निर्देशन नटेर्ने प्रवृत्तिले नेतृत्व खराब हुँदा सिङ्गो संस्था बिगार्ने रहेछ। निगम सुधान गर्न व्यवस्थापन केही समयलाई भए पनि निजी क्षेत्रलाई दिन जरुरी छ।’

प्रकाशित मिति: : 2022-12-26 15:56:00

प्रतिकृया दिनुहोस्