'साहूको पैसा तिर्नका लागि नेताहरूले भ्रष्टाचार गर्छन्'

देश चुनावमय छ। मंसिर ४ नजिकिँदै छ। उम्मेदवारहरू चुनाव जित्नका लागि आ–आफ्नाे क्षेत्रमा जोडतोडले लागेका छन्। चुनावी चर्चा गाउँदेखि सहरसम्मै फिजिएकाे छ। त्यसाे त चुनावी–उत्सवकाे बेग्लै राैनक छ।

पञ्चायतकालका एउटा हस्ती बालाराम घर्तीमगरको चुनावी अभियानबारे अलग्गै अनुभव छ। उनले जम्माजम्मी ६ पटक निर्वाचन जितेका छन्। दाङको मानपुर, सल्यान, प्युठान र तीनपटक रोल्पाबाटै चुनाव जिते। प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य, मन्त्रीदेखि राजपरिषद् सदस्यकाे रोचक राजनीतिक यात्रा भाेगेका छन्।

सातवटा प्रधानमन्त्रीसँग काम गरेका बालारामले मन्त्री कति पटक बनियो भनेर कहिल्यै नगनेको दाबी गर्छन्। उनले आफ्नो राजनीतिक जीवन पूरै सफल भएको बताउँछन्। व्यक्तिगत प्रश्न राख्दा भन्छन्, ‘पैसा कमाउने बाटो खोजेपछि पाइन्छ। मैले खोजिनँ। आजको दिनसम्म मेरो खातामा एक लाख रुपैयाँ पनि छैन। मसँग पैसा कहिल्यै भएन। तर काम कहिल्यै अड्किएन। चलिरह्यो।’

आम निर्वाचनबारे खासै रूचिकर छैनन्, बालाराम। तर उम्मेदवारहरूले भोट माग्ने शैली फेर्नुपर्ने उनको सुझाव छ। हिजोआजको निर्वाचनलाई उनले खर्चिलो मानेका छन्। निर्वाचनमा उम्मेदवारले खर्च गरेको पैसालाई साहूको ठान्नेग गरेका छन्। ‘साहूको पैसा तिर्नका लागि भए पनि नेताहरूले भ्रष्टाचार गर्छन्। पैसा नतिरे मारिहाल्छन् नि साहूले,’ उनले सजिलैसँग भने।

०००

बहुदलीय प्रजातन्त्र पुनस्थापनापछि २०४८ सालको निर्वाचनमा रोल्पा–१ बाट थबाङका कम्युनिष्ट नेता वर्मन बुढा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। त्यो चुनावमा राजावादी नेता बालाराम घर्तीमगर पराजित भएका हुन्।

वर्मनले उसबेला चुनाव जितेपनि आजसम्म सन्तुष्ट छैनन्, बालाराम। उनी भन्छन्, ‘वर्मनजीले भोटले जित्या होइन, इमानदारपूर्वक सत्य कुरा भन्छु। बुथ क्याप्चर गरेर चुनाव जित्या हो।’

पूर्वसांसद वर्मन यतिखेर यो संसारमा छैनन्। उनले बालारामले जे आरोप लगाएपनि सुन्दैनन्। तर रोल्पाली समाजले भने पक्कै मनन गर्ने बालारामको भनाइ छ। एकतिर निर्वाचन अर्कोतिर जित–हार। उनका लागि यो खासै ठूलो चर्चा पनि होइन। चुनावलाई सामान्य रूपमा लिने र नयाँ उम्मेदवार तथा मतदातालाई नयाँ टिप्स दिने गरेका छन् बालाराम।

०००

२०१८ सालको गाउँ पञ्चायतको निर्वाचनमा उनी वडा सदस्यमा निर्वाचित भए। लगत्तै, निर्विरोध प्रधानपञ्च पनि चुनिए। कम उमेरमा जनप्रतिनिधि बनेका बालाराम भन्छन्, ‘उमेर, अनुभव र शिक्षाले मानिसलाई परिपक्व बनाउँदै लैजाँदो रहेछ। त्योबेला तत्काल सबै परिवर्तन गर्न नसकिँदो रहेछ। तर पनि राम्रो काम गर्ने मौका पाएँ।’

धेरै अघिका निर्वाचनमा पनि सामान्य खर्च हुने गरेको उनको अनुभव छ। मतदान एजेन्टलाई एकाध रुपैयाँ दिँदा पनि पुग्थ्यो। २०१९ सालको मंसिरमा निर्वाचन चर्चा चल्यो। गुरू खडानन्दसँग सल्लाह गरेर गाउँ पञ्चायतबाट जिल्ला सभासद् छानिएपछि जिल्ला सभाका लागि तीब्र तयारीमा लागेको बालाराम आज पनि सम्झने गरेका छन्।

०००

२०१९ माघमा जिल्ला पञ्चायतको चुनाव भयो। नारायणप्रसाद चन्द सभापति र बालाराम घर्तीमगर उपसभापति निर्वाचित भए। बालारामका प्रधिस्पर्धी थिए– सल्यान दमाचौरका मस्तबहादुर चन्द। तर जिल्लासभा र राष्ट्रिय पञ्चायतको चुनावमा पराजित बने।

बालारामले कहिल्यै पैसा खर्च नगरेको तर चुनाव भने जितिरहेको दाबी गरे। तर उनले मतदातालाई विवेकशील देख्दै आएका छन्। चेतनशील समाजमा राम्रा उम्मेदवार नै निर्वाचित हुने आशा यस पटक पनि गरेका छन्।


हामी हिन्दू हौँ, हाम्रो परम्परामा दुईवटा दशैं छन्

प्रकाशित मिति: : 2022-11-14 07:43:00

प्रतिकृया दिनुहोस्