नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी फिर्ता गरेका छन्।
सोमबार आफूले प्रयोग गर्दै आएको गाडी उनले प्रदेशसभालाई बुझाएका हुन्।
कोइरालाले को १ झ ६५४ नम्बरको स्कारपियो प्रयोग गर्दै आएका थिए। निर्वाचनको मिति नजिकिएको र आफूलाई पार्टीले उम्मेदवारमा सिफारिस गरेपछि समयमै सरकारी सम्पत्ति बुझाएको कोइरालाले बताए।
भोलिका दिनमा नैतिकतामा समेत प्रश्न उठ्ने भएकाले समयमै गाडी बुझाएको उनको भनाइ छ।
२०७४ को निर्वाचनमा कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
यसपटक उनलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा सिफारिस गरेको छ। उनीसँगै सो क्षेत्रबाट राजीव ढुंगाना र सिताराम मेहताको पनि नाम सिफारिस भएको छ।